• १६ चैत २०८०, शुक्रबार

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

blog

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मानित गरिँदै । तस्बिर रासस

काठमाडौँ, मङ्सिर  १४  गते । मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा. डा. माधवप्रसाद पोखरेलले उहाँलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गर्नुभयो ।

विश्वविख्यात रोयटर्स, बीबीसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गर्नुभएका अधिकारीले पत्रकारिता विधामा रही पुर्‍याउनुभएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो । 

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई स्रष्टा सम्मान गरियो । अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पुर्‍याउनुभएको योगदानको कदरस्वरुप उहाँलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा. महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्व प्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्याय, सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहलगायत महानुभावको व्यक्तित्व र योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरियो ।

सो अवसरमा प्रा. डा. पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरु विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताउनुभयो । पूर्वन्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफ्नोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गर्नुभयो ।     

सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र साहित्यकार गिरी तथा ज्ञानगुन प्रकाशनका संस्थापक शेषराज सिवाकोटीले आ–आफ्नो क्षेत्रबाट देश र समाजका लागि पुर्‍याउनुभएको योगदानबारे भाषाविद् एवं समालोचक शरदच्चन्द्र वस्ती, साहित्यकार प्रमोद प्रधान, साहित्यिक पत्रकार रोचक घिमिरे, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीले प्रकाश पार्नुभयो । ज्ञानगुन प्रकाशनले समाजका समाजका विभिन्न क्षेत्रमा रही राष्ट्र र जनताको कल्याणका खातिर काम गर्ने व्यक्तिको योगदानबारेमा पुस्तक प्रकाशित गर्दै आएको छ । रासस