• १८ असार २०८१, मङ्गलबार

महिला हिंसा रोक्न स्थानीयदेखि केन्द्र तहसम्म उजुरी दिने संरचना बनाउन आवश्यक

blog

महिला तथा लैङ्गिक हिंसा विषयक कार्यक्रममा बोल्नुहुँदै लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थी । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, मङ्सिर १४ गते । महिला तथा लैङ्गिक हिंसाबाट महिलालाई सुरक्षित बनाउन स्थानीय तहदेखि केन्द्रसम्म उजुरी दिने संरचना बनाउन आवश्यक रहेको महिला तथा लैङ्गिक हिंसासम्बन्धी अनुसन्धानकर्ता इन्दिरा पन्थीले बताउनुभयो ।

बुधबार १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा आयोजित महिला तथा लैङ्गिक हिंसा र नेपाली राजनीतिमा यौनिक अल्पसङ्ख्यक विषयक कार्यक्रम बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अनुसन्धानकर्ता पन्थीले नेपालका राजनीतिकर्मी महिला, पत्रकार वा व्यवसायी महिलाहरू सबैले लैङ्गिक हिंसा भोग्नुपरेको अनुसन्धानले देखाएको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा लागेका महिलामा बढी मात्रामा लैङ्गिक हिंसा हुने गरेको धारणा राख्नुभयो ।


पन्थीले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालमा महिला हिंसा बढ्दो अवस्थामा रहेको छ । राजनीतिक गर्ने महिलाहरू परम्परागत सोचभन्दा माथि उठेर लाग्नुभएको छ । उहाँहरूलाई महिला हिंसा छैन होला भन्ने लाग्छ । राजनीतिक कर्मी, पत्रकार वा व्यवसायीक जुनसुकै क्षेत्रको महिला होस् उहाँहरुले लैङ्गिक हिंसा भोग्नुभएको हुन्छ । राजनीतिककर्मी महिलाहरूले ३३ प्रतिशत अधिकार संविधानले सुनिश्चित गरेको छ । तर, पार्टीमा जम्मा ९ प्रतिशत महिलाको सहभागिता रहेको छ । पार्टीभित्र शक्तिमा जानको लागि सङ्घर्ष गर्नु पर्ने हुन्छ त्यहाँ लैङ्गिक हिंसा भोग्नुपर्छ । महिला भएकाले पुरुष नेताले बोलेको कुरा स्वीकार नगर्ने,नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्नु हुन्छ ।’’ 

पन्थीले महिलाका कुरा पुरुष नेताले स्वीकार नगर्ने, नेतृत्वमा जान नदिने जस्ता हिंसा भोग्ने गरेको अनुसन्धानमा देखिएको उल्लेख गर्नुभयो । उहाँले महिलाहरू नेतृत्वमा पुग्दासमेत पुरुष नेताकै कारण पुगेको भनेर महिलाको चरित्र र महिलाको क्षमतामाथि प्रश्न उठाउने गरेको बताउनुभयो ।


उहाँले थप्दै भन्नुभयो, ‘‘पार्टी भित्रका पुरुष नेताले विचारमाभन्दा पनि शारीरिक बनावटका विषयमा पनि हिंसा भोग्नुभएको हुन्छ । पार्टीभन्दा बाहिर पनि चरित्रहीन भन्ने नेतृत्वमा पुग्दा पुरुष नेताले गर्दा पुगेकी भनेर चरित्रमाथि प्रश्न उठाउने र महिला राजनीतिकर्मीको क्षमतामाथि प्रश्न उठाउने काम हुन्छ । राजनीतिक महिलाकर्मीहरूमा पनि एकता छैन ।’’

अनुसन्धान कर्ता पन्थीले राजनीतिकर्मी महिलाको हितको विषयमा बोल्ने संरचना नरहेको जिकिर गर्नुभयो । उहाँले महिला राजनीतिकर्मीबीच पनि एक आपसमा एकता नभएको धारणा पनि व्यक्त गर्नुभयो ।