• १९ असार २०८१, बुधबार

संसदीय दलको नेतामा म नै छु : रञ्जिता श्रेष्ठ

blog

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौँ, असार १७ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा आफू नै रहेको प्रस्ट पार्नुभएको छ । 

उहाँले संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा कुनै पनि छलफल नभएको र संसद् सचिवालयमा पठाइएको पत्रमा झुट्टा विवरण राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा माननीयज्युहरुले जुन हर्कत देखाउनुभयो, यो विषयमा सरसल्लाह नै नगरी, बैठक नबसी निर्णय दिनुभयो, यो आफैमा गलत हो । त्यो पत्र संसद् सचिवालयमा पठाइएको छ । सचिवालयमा विधान, कानुन होला । यसलाई अतिरञ्जित बनाउनुपर्ने कुनै कारण छैन । हरेक पार्टीमा अन्तरकलह, अन्तरद्वन्द्वको स्थिति हुन्छ । नयाँ विषयवस्तु होइन, सामान्य रूपमा लिएको छु ।”

उहाँले काठमाडौँ बाहिर कोठे बैठक बसेर पत्रमा चाहिँ संसदीय कार्यालयमा बसेको भन्ने ब्यहोरा उल्लेख गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्री बन्ने भनेर जुन कुरा बाहिर आएको छ, उहाँहरूबिचमा यो नगर्नुभएको भए हुनेथियो । पार्टी अध्यक्ष म नै छु र अहिलेसम्म संसद् सचिवालयमा म नै कायम छु । परिवर्तन भएको छैन । उहाँहरूले बुझाउनुभएको पत्रमा बिहान १० बजे संसदीय दलको कार्यालयमा बसिएको बैठक भन्नु भएको छ । त्यो बेला उहाँहरू काठमाडौँमा हुनुहुन्न ।”

उहाँले त्यो पत्रमा डिजिटल हस्ताक्षरको कुरा पनि बाहिर आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवर्तन नै गर्नु पर्ने भए पनि आन्तरिक सल्लाह लिएर जानुभएको भए वेटर हुनेथियो । काठमाडौँ बाहिर टीकापुरमा कोठाभित्र गरिएको छलफललाई कार्यालयमा बसेको भनिएको छ । सचिवालयमा बुझाइएको पत्र कम्प्युटराइज्ड, डिजिटल हस्ताक्षर हो भन्ने कुरा आइराछ ।”