• १९ असार २०८१, बुधबार

धनकुटाको विकासका लागि संघीय बजेट

blog

खानेपानीमन्त्री राजेन्द्रकुमार राई पत्रकार सम्मेलनमा ।

कोकिला भण्डारी

धनकुटा, असार १७ गते । संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१–८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ । 

प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीसहित विभिन्न मन्त्रालयबाट धनकुटाको विकासका लागि ७ अर्ब ९५ करोड ५ लाख बजेट विनियोजन भएको बताउनुभयो ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मन्त्री राईले सबै मन्त्रालयमार्फत आफ्नो गृह जिल्ला धनकुटामा आएको बजेटको विवरण प्रस्तुत गर्नुभयो । 

नियमित आउने बजेटभन्दा यस पटक ठुलो बजेट जिल्लामा ल्याउन पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री राईले अब जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री राईले भन्नुभयो, ‘धनकुटाको विकासका लागि निरन्तर प्रयास र प्रयत्न गरेको छु, यो पटक झण्डै ८ अर्ब बजेट धनकुटामा ल्याउन सफल भएका छौं, यसले जिल्लाको विकासका लागि ठुलो काम हुनेछ ।’

मन्त्री राईले खानेपानी मन्त्रालयबाट मात्रै धनकुटामा २ अर्ब ५० करोड बजेट विनियोजन गर्नुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २ अर्ब १० करोड र शहरी विकास मन्त्रालयबाट १ अर्ब ५ करोड बजेट आएको मन्त्री राईले जानकारी दिनुभयो ।