• २० असार २०८१, बिहिबार

काँग्रेस– एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी – प्रवक्ता महत

blog

काठमाडौँ, असार १८ गते । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताउनुभएको छ ।

बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे जानकारी दिनुहुँदै उहाँले सो कुरा बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार निर्माणको कुरामा संलग्न हुन्छौँ । सत्तामा जान मात्र समझदारी गर्दैनौँ । महत्त्वपूर्ण मुद्दालाई, आम जनताको चासो र सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ ।”

उहाँले स्थायित्व, आर्थिक स्थितिको सुधार, संविधानमा आवश्यक संशोधन, लोकतन्त्रलाई थप घनीभूत बनाएर लाने कुरामा सहमति भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिको सरकारको नाम दिइएको छ । एमाले अध्यक्ष ओली र पार्टी सभापतिबिच आलोपालो नेतृत्व गर्ने । नेतृत्व काँग्रेस र एमालेको हुन्छ निर्वाचनसम्म । यसमा अरु दललाई पनि संलग्न गर्न सकिन्छ ।”

उहाँले सरकारको नेतृत्व कसरी गर्ने लगायतका व्यवहारिक विषयमा छलफल गर्न काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बुधवार बिहान ९ बजे बस्ने जानकारी दिनुभयो ।