• १२ साउन २०८१, शनिबार

नकआउटतर्फ पोर्चुगलको नजर

blog

दोहा, मङ्सिर १२ गते। पछिल्लो खेलमा पाँच फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले सोमबार उरुग्वेविरुद्ध खेल्दै छ। उरुग्वेविरुद्धको जितले पोर्चुगललाई समूह ‘एच’बाट नकआउट चरणमा पु-याउनेछ। पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ ले हराएको थियो।

चालू विश्वकपमा एउटा विश्व कीर्तिमान बनाएपछि रोनाल्डोको प्रमुख लक्ष्य भनेको विश्वकप ट्रफी उचाल्नु नै हो। उहाँले पनि भन्नुभएको छ, “यो सुरुआत मात्र हो। असम्भव भन्ने केही हुन्न।” आफ्नो नेतृत्वमा पोर्चुगललाई युरो च्याम्पियन बनाइसकेका रोनाल्डोलाई विश्वकप ट्रफीले भने लोभ्याइरहेको छ। एट्लेटिको म्याड्रिडका फरवार्ड जोआवो फेलिक्स, म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर बु्रनो फर्नान्डेज र म्यान्चेस्टर सिटीका मिडफिल्डर बर्नार्डो सिल्भाको उपस्थितिका कारण रोनाल्डोले आफ्नो अन्तिम विश्वकपमा ट्रफी उचाले आश्चर्यचकित हुनुपर्ने छैन। उरुग्वेले पहिलो खेलमा दक्षिण कोरियासँग गोलरहित बराबरीमा खेलेको थियो। 

उरुग्वे पनि विश्व फुटबलको एक शक्ति हो। उरुग्वेको टिममा अनुभवी र नयाँ खेलाडीको सम्मिश्रण छ। क्लब फुटबलमा रोनाल्डोका परम्परागत प्रतिद्वन्द्वी ३५ वर्षीय लुइस सुवारेजको काँधमा अहिले पनि आक्रमणको जिम्मेवारी छ। यसैगरी नयाँ पुस्ताका फरवार्ड लिभरपुलबाट खेल्ने डार्विन नुनियज र फाकुन्डो पेलिस्ट्री खतरनाक स्ट्राइकर हुनुहुन्छ। उरुग्वेले यस विश्वकपमा सुवारेजकै उमेरका स्ट्राइकर एडिसन काभानीलाई पनि विश्वास गरेर टिममा राखेको छ।

घानाविरुद्ध खेल्न कोरिया तयार

समूह ‘एच’मा घाना र दक्षिण कोरियाले सोमबार खेल्दा सन हिउङ मिनले आफ्ना पुराना प्रशिक्षक ओट्टो आडोको सामना गर्नुहुनेछ। दक्षिण कोरियाका कप्तान तथा फरवार्ड सनलाई ओट्टोले ‘युथ लेभल’मा प्रशिक्षण दिनुभएको हो।

ओटो जर्मनीको ह्यामबर्गको प्रशिक्षक छँदा सन पनि सो क्लबमा आबद्ध हुनुभएको थियो। ओट्टोले नै सनलाई ह्यामबर्गको सिनियर टिममा सिफारिस गर्नुभएको हो। ओट्टोले आइतबार भन्नुभयो, “म सनले सधैँ राम्रो गरून् र जितून् भन्ने चाहन्छु तर भोलिको खेलबाहेक।”

दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टो घानालाई हराउनेमा विश्वस्त हुनुहुन्छ। “उरुग्वेविरुद्धको खेलमा हाम्रो आक्रामक खेल राम्रो थियो। हामीले गोल मात्र गर्न सकेनौँ। हाम्रो टिम बहादुर छ। हामी कोहीसँग डराउँदैनौँ,” उहाँले भन्नुभयो।

दक्षिण कोरिया उरुग्वेसँग गोलरहित बराबरी र घाना पोर्चुगलसँग ३–२ ले हारेपछि खेल्दै छ। पोर्चुगलविरुद्ध घानाका कप्तान एन्ड्रे आयु र ओस्मान बुखारीले गोल गर्नुभएको थियो। सन् २०१० मा क्वाटरफाइनल पुगेको घाना सन् २०१४ को समूह चरणबाटै बिदा भएको थियो। पछिल्लो संस्करणमा भने घाना विश्वकपमा छनोट हुन सकेको थिएन। एपी