• १२ साउन २०८१, शनिबार

ब्राजिललाई स्विट्जरल्यान्डको चुनौती

blog

दोहा, मङ्सिर १२ गते। पाँच पटकको विश्वविजेता तथा उपाधिको प्रमुख दाबेदार ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराउँदा रिचर्लिसनले दुवै गोल गर्नुभयो। त्यसैले रिचर्लिसन अहिले भगवान् उहाँको साथमा रहेको विश्वास गर्नुहुन्छ। 

स्विट्जरल्यान्डविरुद्ध सोमबार हुने खेलअघि रिचर्लिसनले सो भनाइ राख्नुभएको हो। रिचर्लिसनले विश्वकपमा आफ्नो पहिलो खेलमै दुई गोल गर्नुभयो।

ब्राजिलका लागि पछिल्ला सात खेलमा रिचर्लिसनले नौ गोल गर्नुभएको छ। त्यसैले पनि स्विट्जरल्यान्डका लागि प्रमुख खतरा रिचर्लिसन नै हुनुहुनेछ। स्विट्जरल्यान्ड विश्वकपमा पहिलो पटक लगातार दुई खेल जित्ने दाउमा छ। 

स्विट्जरल्यान्डविरुद्धको खेलमा ब्राजिललाई आफ्ना प्रमुख खेलाडी नेमारको सहयोग प्राप्त हुनेछैन। सर्बियाविरुद्धको खेलमा गोलीगाँठोमा चोट लागेपछि नेमार कम्तीमा दुई खेलमा खेल्न नसक्ने हुनुभएको छ।

क्यामरुन र सर्बियालाई जित आवश्यक

क्यामरुन र सर्बियाले सोमबार एकअर्काविरुद्ध खेल्दा आआफ्ना स्ट्राइकरबाट गोलको आशा गर्नेछन्। यी दुवै टिम पहिलो खेलमा गोल नगरीकन हार बेहोर्न बाध्य भएका थिए। स्विट्जरल्यान्डले क्यामरुनलाई १–० र ब्राजिलले सर्बियालाई २–० ले हराएका थिए। सर्बियाको टिममा स्तरीय फिनिसरका रूपमा युभेन्टसका स्ट्राइकर डुसान भ्लाहोभिच हुनुहुन्छ तर उहाँ अहिले घाइते बन्नुभएको छ। त्यसैले उहाँले खेल्नेमा अहिले दुविधा छ। सर्बियाका अर्का स्ट्राइकर अलेक्ज्यान्डर मिट्रोभिचको नाम पनि ठूलो छ। मिट्रोभिचले सर्बियाका लागि ५० गोल गरिसक्नुभएको छ। गतवर्ष लिस्बनमा भएको विश्वकप छनोटमा पोर्चुगलविरुद्ध अन्तिम समयमा मिट्रोभिचले हेड गोल गरेपछि नै सर्बिया कतारमा खेल्न योग्य भएको थियो।

क्यामरुन पनि तीन स्ट्राइकरसहित आक्रमणमा उत्रने मन पराउने टिम हो। क्यामरुनका फरवार्डत्रय ब्रायन म्युमो, इरिक म्याकिसम चोउपो मोटिङ र कार्ल टोको इकाम्बीसमक्ष सर्बियाविरुद्ध गोल गरेर विश्वकपमा क्यामरुनको अगाडि बढ्ने सम्भावना कायम राख्ने जिम्मेवारी छ। टोको इकाम्बनीले गत वर्ष अफ्रिकन कप अफ नेसन्समा पाँच गोल गर्नुभएको थियो। ३३ वर्षीय चाउपो–मोटिङ बायर्न म्युनिखका महत्वपूर्ण स्ट्राइकर हुनुहुन्छ। उहाँले यस सत्रमा बायर्नका लागि १६ खेलमा ११ गोल गर्नुभएको छ। क्यामरुनको मिडफिल्डमा सिरि ए टिम नापोलीका लागि खेल्ने एन्ड्रे–फ्रान्क जाम्बो अन्वगुइसाजस्ता प्रभावशाली खेलाडीको उपस्थिति छ। सर्बियाविरुद्ध मिडफिल्डमा उहाँको भूमिका महत्वपूर्ण हुनेछ।