• १२ साउन २०८१, शनिबार

क्रोएसियासँग हार खेप्दै विश्वकपबाट बाहिरियो क्यानडा

blog

क्यानडाविरुद्ध सट प्रहार गर्दै क्रोएसियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर ११ गते । क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि अन्तिममा फराकिलो हार खेपेको क्यानडा कतार विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।

समूह ‘एफ’ अन्तर्गत खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा क्याडना क्रोएसियासँग ४-१ गोलले पराजित भयो । जितसँगै क्रोएसिया समूहको शीर्षस्थानमा उक्लिएको छ । 

क्रोएसियाको जितमा आन्द्रे क्रामारिचले दुई गोल गर्नुभयो । मार्को लिभाजा र लोभ्रो माजेरले एक एक गोल गर्नुभएको थियो । क्यानडाका लागि अल्फोन्सो डेभिसले सुरुवाती गोल गर्नुभएको थियो । 


डेभिसले खेलको दोस्रो मिनेटमै ताहन बुकाननको पासमा आकर्षक हेडगोल गर्नुभएको थियो । क्यानडाको विश्वकपमै ऐतिहासिक पहिलो गोल हो । खेलको सुरुवातमा आक्रामक देखिएको क्यानडाले विस्तारै लय गुमायो । 

क्रोएसियाले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गर्दै खेलमा फर्किएको थियो । ३६औं मिनेटमा क्रामारिचले इभान पेरिसिचको पासमा बराबरी गोल गर्नुभयो । ४४औं मिनेटमा मार्को लिभाजाले जोसिप जुरानोभिचको पासमा गोल गर्दै क्रोएसियालाई अगाडि बढाउनुभयो । 

७०औं मिनेटमा क्रामारिचले पेरिसिचको पासमा व्यक्तिगत दोस्रो गोल थप्नुभयो । इन्जुरी समयमा लोभ्रो माजेरले गोल गर्दै क्रोएसियालाई सानदार जित दिलाउनुभयो । 


यस जितसँगै क्रोएसियाले चार अंक बनाएको छ । समान चार अङ्क बनाएको मोरोक्को दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको बेल्जियमको तीन अङ्क छ । 

अङ्कविहीन क्यानडा एक खेल अगावै बाहिरिएको छ । क्यानडा कतारकाे विश्वकपबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि समूह ‘ए’ बाट कतार बाहिरिसकेको छ । एजेन्सी