• १६ चैत २०८०, शुक्रबार

अस्ट्रेलियाको नकआउट चरण पुग्ने सम्भावना कायम

blog

दोहा, मङ्सिर ११ गते। मिचेल ड्युकको गोल निर्णायक बनेपछि अस्ट्रेलियाले शनिबार ट्युनिसियालाई १–० ले हराएर विश्वकप फुटबल प्रतियोगितामा नकआउट चरणमा सम्भावना कायम राखेको छ। उपाधि रक्षा अभियानमा रहेको फ्रान्ससँगको पहिलो खेल फराकिलो अन्तरले हारेपछि अस्ट्रेलियालाई प्रिक्वाटरफाइनलको सम्भावना कायम राख्न ट्युनिसियालाई हराउनैपर्ने बाध्यता थियो। 

खेलको २३औँ मिनेटमा क्रेग गुडविनको क्रसमा ड्युकले हेडमार्फत गोल गर्नुभएको हो। ड्युकले गोलपछि आफ्नो औँलाद्वारा ‘जे’को सङ्केत बनाएर गोलको खुसी मनाउनुभयो। ड्युकका छोरा ज्याक्सन आफ्ना बुवाको खेल हेर्न रङ्गशालामा उपस्थिति हुनुहुन्थ्यो। ड्युकको गोलले अस्ट्रेलियालाई सन् २०१० मा सर्बियालाई हराएपछि विश्वकपमा पहिलो जित दिलायो। 

इङ्ग्ल्यान्ड पुनः अमेरिकासँग निराश

विश्वकप फुटबल प्रतियोगितामा अमेरिकाले शुक्रबार राति इङ्ग्ल्यान्डलाई गोलरहित बराबरीमा रोकेको छ। विश्वकप फुटबलमा अमेरिकाले पुनः उपाधि दाबेदार इङ्ग्ल्यान्डलाई निराश पारेको हो। विश्वकपमा भने इङ्ग्ल्यान्डले अहिलेसम्म अमेरिकालाई हराउन सकेको छैन। सन् १९५० को विश्वकपमा अमेरिकासँग इङ्ग्ल्यान्ड १–० ले पराजित भएको थियो । सन् २०१० को विश्वकपमा भने यी दुई राष्ट्रले १–१ को बराबरीमा खेलेका थिए। यद्यपि विश्वकपलाई अलग राख्ने हो भने अमेरिकाविरुद्ध इङ्ग्ल्यान्ड सधैँ हाबी नै बन्दै आएको छ।

यस विश्वकपअघिको पछिल्ला प्रदर्शन हेर्ने को भने इङ्ग्ल्यान्डले ११ मध्ये आठ खेलमा अमेरिकालाई हराएको छ। यस पटक पहिलो खेलमा इरानलाई ६–२ ले हराएकोले पनि इङ्ग्ल्यान्डले ग्रेग बरहाल्टरको युवा टिमलाई हराएर नकआउट चरणमा स्थान बनाउने अपेक्षा गरेको थियो तर इङ्ग्ल्यान्ड यसपालि पनि सफल हुन सकेन। अझ इङ्ग्ल्यान्डविरुद्ध अमेरिका नै गोलको निकै नजिक पुगेको थियो। अमेरिकाका स्ट्राइकर क्रिस्टियन पुलिसिचले पूर्वाद्र्धमा प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केपछि इङ्ग्ल्यान्ड भाग्यशाली बनेको थियो। समूह ‘बी’मा इङ्ग्ल्यान्ड दुई खेलबाट चार अङ्कसहित शीर्ष स्थानमा छ। इरान तीन अङ्कसहित दोस्रो, अमेरिका दुई अङ्कसहित तेस्रो र वेल्स एक अङ्कसहित चौथो स्थनमा रहेका छन्।

भ्यालेन्सिया सर्वाधिक गोलकर्ता

विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार राति इनर भ्यालेन्सियाको गोलको सहयोगमा इक्वेडरले नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको छ। इक्वेडरले सन् २०१४ पछि विश्वकपमा गरेका छ गोल सबै भ्यालेन्सियाको नाममा रहेको छ। चालू विश्वकपको उद्घाटन खेलमा कतारलाई २–० ले हराउँदा दुवै गोल भ्यालेन्सियाले नै गर्नुभएको थियो। भ्यालेन्सिया तीन गोलसहित गोल्डेन बुटको होडमा सबैभन्दा अगाडि हुनुहुन्छ। समूह ‘ए’मा दुई खेलबाट चार अङ्क बनाएको इक्वेडरलाई अब नकआउट चरणमा स्थान बनाउन मङ्गलबार सेनेगलविरुद्ध एक अङ्क पर्याप्त हुनेछ।

खेलको छैटौँ मिनेटमा नै डिबक्स नजिकबाट कोडी गाक्पोले उत्कृष्ट प्रहारमार्फत गोल गरेपछि नेदरल्यान्ड्सले अग्रता बनाएको थियो। खेलको ४९औँ मिनेटमा भ्यालेन्सियाले गोल गरी नेदरल्यान्ड्सलाई खेल जित्न दिनुभएन। इक्वेडरले ११ घण्टापछि गोल बेहोरेको हो। यसअघिका सात खेलमा इक्वेडरले क्लिन चिट राखेको थियो। यसैगरी बराबरीको नतिजापछि नेदरल्यान्ड्सको सात खेलपछि विजयी अभियानमा रोक लागेको छ।

कतारको चुनौती समाप्त

कतारको विश्वकप फुटबल प्रतियोगितामा चुनौती समाप्त भएको छ । कतार दोस्रो खेलमा सेनेगलसँग २–० ले पराजित भयो। कतारको यो लागतार दोस्रो हार हो। समूह ‘ए’मा नेदरल्यान्ड्स र इक्वेडरले बराबरीमा खेलेपछि पनि कतारको अगाडि बढ्ने सम्भावना समाप्त भयो। विश्कप आयोजना गर्न २०० अर्ब डलर खर्च गरेको कतारको फुटबल मैदानमा चुनौती विश्वकप सुरु भएको पाँच दिनपछि नै सकिएको हो। कतार यस विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो टिम पनि बनेको छ। विश्वकपको ९२ वर्षको इतिहासमा आयोजक राष्ट्र यति चाँडै बाहिरिएको यो पहिलो पटक हो। यसैगरी सन् २०१० मा दक्षिण अफ्रिकापछि विश्वकपको समूह चरणबाट बिदा हुने कतार दोस्रो राष्ट्र बनेको छ। कतारसमक्ष अब तेस्रो प्रतिद्वन्द्वी बलियो नेदरल्यान्ड्स रहेको छ।

कतारले दोस्रो खेलमा गोल गर्न भने सफल भयो ।  उत्तराद्र्धमा घानामा जन्मेका मोहम्मद मुन्तायरीले हेडमार्फत गर्नुभएको हो। सो गोलले स्कोर २–१ भएको थियो र कतार खेलमा फर्किने सम्भावना बनेको थियो तर गोल भएको छ मिनेटपछि नै बाम्बा डिएङले गोल गरेपछि अफ्रिकी च्याम्पियन सेनेगलको जित लगभग पक्का भयो। सेनेगलका लागि अन्य गोल बोलाए डिया र फामारा डिडिउले गर्नुभयो। एपी