• ७ वैशाख २०८१, शुक्रबार

समूह चरणको बहुप्रतीक्षित खेल आज

blog

दोहा, मङ्सिर ११ गते । गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आइतबार अल बायात रङ्गशालामा हुँदैछ। 

यस विश्वकपमा यी दुई टिमको पहिलो खेलमा प्रदर्शनमा भने आकाश जमिनको फरक छ। चार पटकको विश्वविजेता जर्मनी आफ्नो पहिलो खेलमा एसियाली टिम जापानसँग २–१ ले स्तब्ध भयो। स्पेनको युवा टिम भने टिकिटिका खेल शैलीलाई पुनः ब्युँताउँदै कोस्टारिकालाई ७–० ले हराएर जर्मनीविरुद्ध खेल्दै छ। त्यसैले स्पेनविरुद्ध अनुकूल नतिजा नआएमा जर्मनी लगातार दोस्रो पटक विश्वकपमा समूह चरणबाट बिदा हुने सम्भावना बलियो बनेको छ।

दुई वर्षअघि नेसन्स लिगमा यी दुईबीच भएको खेलमा स्पेनले जर्मनीलाई ६–० ले हराएको थियो। विश्वकपमा यी दुई टिमबीच अहिलेसम्म चार पटक भिडन्त भएको छ। जसमध्ये पछिल्लो खेल सन् २०१० मा खेल्दा स्पेन १–० ले विजयी भएको थियो। सन् १९८८ मा भएको युरोपेली च्याम्पियनसिपपछि जर्मनीसँग स्पेन अफिसियल प्रतियोगितामा हारेको छ। यसबीच यी दुई टिमबीचको भिडन्तमा स्पेनले तीन जित र दुई बराबरीमा खेलेको थियो। त्यसैले पनि जर्मनी थप दबाबमा छ। जर्मनीले स्पेनलाई पछिल्लो पटक आठ वर्षअघि हराएको थियो।

“पहिलो खेलको नतिजाले आफ्नो टिमको मनोबल उच्च पारेको तर जित्नैपर्ने बाध्यतामा रहेको जर्मनी खतरनाक बन्न सक्छ,” स्पेनका प्रशिक्षक लुइस इनरिकेको भनाइ छ। स्पेनविरुद्धको खेलमा जर्मनीका विन्गर लेरोइ साने मैदानमा फर्कने सम्भावना रहेको छ। जापानविरुद्धको खेल उहाँले घुँडाको चोटका कारण खेल्नुभएको थिएन।

नकआउटमा पुग्ने दाउमा जापान

समूह ‘ई’मा नै तीन दिनअघि जापानले जर्मनीलाई हराएको खेल विश्वकप फुटबल इतिहासकै सर्वाधिक स्तब्धकारी खेलमध्ये एक मानिएको छ। यस जितलाई सन् २०१५ मा इङ्ग्ल्यान्डमा भएको रग्बी विश्वकपमा जापानले बलियो दक्षिण अफ्रिकालाई स्तब्ध पारेको खेलसँग पनि तुलना गरिँदै छ। जर्मनीविरुद्धको खेलमा जापान अन्डरडग थियो तर आइतबार कोस्टारिकाविरुद्ध खेल्दा जापान जितको दाबेदार हुनेछ। सो खेल जितेमा जापान एक खेलअगाडि नै नकआउट चरणमा पुग्नेछ। यद्यपि कोस्टारिकासँग हारेमा जापानको समूह चरण पार गर्ने सम्भावना धमिलो हुनेछ। समूह चरणको अन्तिम खेलमा कोस्टारिकाले जर्मनी र जापानले स्पेनको सामना गर्नुपर्नेछ।

स्पेनसँग ७–० ले हारेपछि अहिले कोटारिका आफ्नो छवि सुधार्न जापानविरुद्ध खेल्दै छ। सेन्ट्रल अमेरिकाको सानो देश कोस्टारिका फुटबलमा नाम कमाएको टिम हो। पचास लाख मात्र जनसङ्ख्या भएको कोस्टारिका छैटौँ पटक विश्वकपमा खेलिरहेको छ। जापानको भने यो लगातार सातौँ पटक विश्वकपमा सहभागिता हो। जसमध्ये तीन पटक जापानले समूह चरण पार गरेको छ। पछिल्लो संस्करणमा जापान प्रिक्वाटरफाइनलमा दुई गोलले अगाडि रहेर पनि बेल्जियमसँग ३–२ ले पराजित भएको थियो। यसपालि जापानले कम्तीमा क्वाटरफाइनलसम्मको लक्ष्य बनाएको छ। एपी