• ८ वैशाख २०८१, शनिबार

सामाजिक सुरक्षा दिवस आज

मासिक एक लाखसम्म पेन्सन

blog

काठमाडौँ, मङ्सिर ११ गते । सामाजिक सुरक्षा कोषको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा मृत्यु भएका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपियाँसम्म  पेन्सन लिन थालेका छन् । 

कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध भएर योगदान गरिरहेका बेलामा विभिन्न कारणले मृत्यु भएका २६५ योगदानकर्ता आश्रित परिवारलाई चार हजारदेखि ९९ हजार ६२५ रुपियाँसम्म निवृत्तिभरण वितरण गर्दै आएको छ । 

कोषका अनुसार अक्सफाम जीबी नेपालमा कार्यरत सुवास न्यौपानेको मृत्युपछि उहाँको आश्रित परिवार श्रीमती र सन्ततिले मासिक ९९ हजार ६२५ रुपियाँ निवृत्तभरणका रूपमा प्राप्त गर्नुभएको हो । मृतक न्यौपानेले बहुराष्ट्रिय कम्पनीमा काम गर्ने र तलब पनि एक लाख रुपियाँको हाराहारीमा पाउनुहुन्थ्यो ।

सामाजिक सुरक्षा ऐनअनुसार योगदानकर्ता मृतक न्यौपानेको आधारभूत पारिश्रमिकको ६० प्रतिशतबाट उहाँकी श्रीमती दीक्षाले मासिक ५९ हजार ७७५ रुपियाँ निवृत्तिभरण आजीवन प्राप्त गर्नुहुनेछ भने उहाँका सन्ततिले शैक्षिक वृत्तिअन्तर्गत ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुग्दासम्म मासिक ३९ हजार ८५० रुपियाँ प्राप्त गर्नुहुनेछ । 

कानुनअनुसार योगदाकर्ताकी श्रीमतीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगारी रहेको अवस्थामा भने यो सुविधा पाइँदैन । ऐनमा मृतक अविवाहित भएको खण्डमा आश्रित बाबुआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनभर पाउने व्यवस्था छ । मृतकको परिवारले अन्तिम संस्कार खर्चबापत एकमुष्ट २५ हजार रुपियाँसमेत पाउने व्यवस्था गरिएको छ ।  

आश्रित परिवार सुरक्षा योजनाको यो सुविधा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएर विभिन्न रोग वा दुर्घटनामा परी मृत्यु भएका औपचारिक क्षेत्रमा कार्यरत श्रमिकका परिवारले मात्रै यो सुविधा पाउँछन् । कोषका अनुसार आश्रित परिवार योजनाअन्तर्गत अहिलेसम्म झन्डै छ करोड रुपियाँ निवृत्तभरणका रूपमा गइसकेको छ । 

कोषका उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै बेला विभिन्न कारणले मृत्यु भएका योगदानकर्ता आश्रित परिवारलाई मासिक चार हजारदेखि एक लाख रुपियाँसम्म निवृत्तिभरण वितरण गर्न सुरु गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा ऐनअनुसार कोषको योजनामा योगदान गरिरहेकै अवस्थामा योगदानकर्ताको मृत्यु भएमा निजका आश्रित परिवारले मृतक योगदानकर्ताले प्राप्त गर्ने मासिक तलबको ६० प्रतिशत आश्रित परिवारलाई निवृत्तभरणका व्यवस्था छ । योगदानकर्ताको मृत्यु भएको अवस्था निजका सन्ततिले शैक्षिक वृत्तिबापत योगदानकर्ता अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा प्राप्त गर्ने सोही ऐनमा व्यवस्था छ । 

कोषका अनुसार आजीवन निवृत्तभरणको सुविधा पाउने परिवारको सङ्ख्या २६५ पुगेको छ । निवृत्तिवरणबापत कोषले मासिक झन्डै २१ लाख रुपियाँ खर्च गर्दै आएको जनाएको छ ।

कोषका अनुसार हाल १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार १११ योगदानकर्ता कोषमा आबद्ध छन् । सो अवधिसम्म कोषमा २५ अर्ब ५७ करोड रुपियाँ सङ्कलन भएको छ । कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना रकम ३० करोड ३२ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा दाबी रकम तीन करोड ३८ लाख र अवकाश दाबी रकम दुई अर्ब १८ करोड ५२ लाख रुपियाँ रहेको छ । यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम  चार करोड ७७ लाख रुपियाँ रहेको कोषले जनाएको छ ।