• १३ साउन २०८१, आइतबार

बुढीनन्दा पाँचमा मतदान सुरु

blog

बाजुरा, मङ्सिर १० गते ।  जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको मतदान सुरु भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपामा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच फर्जी मत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान कार्य स्थगित भएको थियो ।

मङ्सिर ४ गते स्थगित भएको बूढीनन्दा नगरपालिका –५ को नन्देश्वरी माविमा रहेको मतदान स्थलमा आज बिहान सात बजेबाट पुनः मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको  छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बिहान ७ बजेबाट सुरु भएको मतदान स्थलमा अहिले त्यहाँका मतदाताहरूले शान्त  वातावरणमा मतदान गरिरहेको बताउनुभयो । बूढीनन्दा नगरपालिका वडा नं –५ को नन्देश्वरी मतदान स्थल क मा ९९९ जना मतदाता छन् ।


बूढीनन्दा नगरपालिका वडा नं –५ को स्थगित भएको मतदानमा पुन निर्वाचन भएर मतपेटिका मार्तडीमा आइपुगेपछि मतगणनाका विषयमा छलफल हुने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।