• ११ वैशाख २०८१, मङ्गलबार

रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

blog

दोहा, मङ्सिर १० गते । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको छ। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ।

पोर्चुगलले बिहीबार राति घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले पहिलो गोल गर्नुभएको थियो। ३७ वर्षीय रोनाल्डोले खेलको ६५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो। रोनाल्डोले आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गर्नुभएको छ। उहाँले पहिलो पटक सन् २००६ मा भएको विश्वकपमा खेल्नुभएको थियो। सो संस्करणमा उहाँले समूह चरणमा इरानविरुद्ध पेनाल्टीमा नै गोल गरेर विश्वकपमा आफ्नो गोलको खाता खोल्नुभएको हो। सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा पनि रोनाल्डोबाट एक–एक गोल आएको थियो। चार वर्षअघि रुसमा भएको विश्वकपमा रोनाल्डोले चार गोल गर्नुभयो।

यसैगरी उहाँको अन्तर्राष्ट्रिय गोल सङ्ख्या ११८ गोल पुगेको छ। रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुनुहुन्छ। रोनाल्डोले कीर्तिमान बनाएपछि भन्नुभयो, “मेरा लागि यो अविस्मरणीय क्षण हो। पाँच विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी बन्न सकेकोमा म निकै गौरवान्वित बनेको छु।” महिला विश्वकप फुटबलमा पनि ब्राजिलकी फरवार्ड मार्टाले पाँच संस्करणमा गोल गरेर कीर्तिमान बनाउनुभएको छ।

पोर्चुगल र घानाबीचको खेलमा पाँचै गोल अन्तिम घण्टामा भएको थियो। रोनाल्डोले गोल गरेको आठ मिनेटपछि नै घानाका एन्ड्री एयुले गोल गरेर स्कोर बराबर गर्नुभयो तर जोआवो फेलिक्सले ७८औँ मिनेटमा बु्रनो फर्नान्डेजको पासमा गोल गरी पोर्चुगललाई पुनः अगाडि पार्नुभयो। फर्नान्डेजले राफेल लियाओले गरेको तेस्रो गोलका लागि पनि पास मिलाइदिनुभएको थियो। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा ओस्मान बुकारीले गोल गरी खेल रोमाञ्चक बनाउनुभयो तर घानाले त्यसपछि थप नौ मिनेटको खेलमा गोल गर्न नसक्दा पोर्चुगललाई तीन अङ्क प्राप्त भयो। एपी