• १८ पुस २०८१, बिहिबार

मेक्सिकोसँग खेल्नुअघि अर्जेन्टिना दबाबमा

blog

दोहा, मङ्सिर १० गते। विश्वकप फुटबल प्रतियोगिता भइरहेको सहरमा अहिले साउदी अरबका समर्थक मात्र होइन ब्राजिलमा पनि अहिले ‘ह्वयर इज मेसी’ एउटा गीत गुन्जिरहेको छ। जुन साउदी अरबसँग अर्जेन्टिनाको हारपछि मेसीलाई गिज्याउन बनेको छोटो गीत हो।

साउदी अरबसँगको अप्रत्याशित र अकल्पनीय हारपछि अर्जेन्टिनामाथि समूह चरणबाट बाहिरिने खतरा पनि मडारिएको छ। अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने अभियान कायम राख्न शनिबार मेक्सिकोलाई हराउनुपर्नेछ। मेसीले पनि भन्नुभयो, “हामीले पहिले नै भनेका थियौँ, अर्जेन्टिना यहाँ हरेक खेल जित्न आएको हो। पहिलो खेल हारेपछि अब मेक्सिकोसँग जित्नु अझ अपरिहार्य बनेको छ।”

तर, मेक्सिकोका प्रशिक्षक जेरार्डो मार्टिनो अर्जेन्टिनाको डरका कारण बन्नुभएको छ। सन् २०१४ देखि २०१६ सम्म मार्टिनो अर्जेन्टिनाका प्रशिक्षक हुनुहुन्थ्यो। सो समयमा लगातार दुई वर्ष कोपा अमेरिकामा कमजोर प्रदर्शनपछि मार्टिनोले अर्जेन्टिनाको प्रशिक्षक पद त्याग्नुभएको थियो। अहिले मार्टिनो मेक्सिकोलाई विश्वकपको अन्तिम १६ अथवा अझ लामो यात्रा पार गर्ने अभियानमा हुनुहुन्छ। मार्टिनोको लक्ष्य सफल भयो भने अर्जेन्टिनाको यात्रा समूह चरणमै टुङ्गिन सक्छ। सन् २००६ र २०१० मा मेक्सिकोले समूह चरणमा अर्जेन्टिनासँग हार बेहोरेको थियो।

यस विश्वकपमा मेक्सिकोले पहिलो खेलमा पोल्यान्डसँग बराबरीमा खेलेको थियो। त्यसैले पनि भोलिको खेलमा अर्जेन्टिनामाथि बढी दबाब हुनेछ। यद्यपि साउदीसँग हारे पनि अर्जेन्टिनाको लय खराब छैन। साउदीसँग हार्नुअघि अर्जेन्टिना लगातार ३६ खेलमा अपराजित थियो। सर्वाधिक खेल अपराजितको विश्व कीर्तिमानको इटालीले सन् २०१८ देखि २०२१ सम्म अपराजित रहेर कीर्तिमान कायम गरेको छ तर साउदीसँग हारेपछि अर्जेन्टिना एक खेलले सो विश्व कीर्तिमानको बाराबरी गर्नबाट चुक्यो।

यसैगरी मेक्सिकोले विश्वकपमा अहिलेसम्म खेलको तीन खेलमा अर्जेन्टिनालाई हराएको छैन। सन् २०१९ मा लाउटारो मार्टिनेजले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले मेक्सिकालाई ४–० ले हराएको थियो, जुन मेक्सिकोको प्रशिक्षकका रूपमा मार्टिनोको अहिलेसम्मकै सबैभन्दा ठूलो हारका रूपमा पनि रहेको छ।

जिरुसमक्ष कीर्तिमानको अवसर

ओलिभर जिरुसमक्ष शनिबार डेनमार्कसँग खेल्दा फ्रान्सका सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध दुई गोल गरेर फ्रान्सका सर्वाधिक गोलकर्ता थियरी हेनरीको ५२ गोलको कीर्तिमानलाई जिरुले बराबरी गरिसक्नुभएको छ। युवा स्ट्राइकर किलियन एमबापे पनि फ्रान्सका महान् फुटबल बन्नेतर्फ अग्रसर हुनुहुन्छ। डेनमार्कविरुद्ध गोल गरेमा फ्रान्सको जर्सीमा एमबापेको ३० गोल हुनेछ।

डेनमार्कविरुद्धको जितले उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई नकआउटमा पु-याउनेछ। यद्यपि यस वर्ष डेनमार्कविरुद्ध फ्रान्सको प्रदर्शन राम्रो छैन। नेसन्स लिगमा डेनमार्कले फ्रान्सलाई दुवै खेलमा हराएको थियो।

ट्युनिसियालाई घरमा जस्तै समर्थन

अफ्रिकाको प्रतिनिधित्व गरिरहेको ट्युनिसिया यस विश्वकपमा सहभागी चार अरब राष्ट्रमध्ये एक हो। त्यसैले अस्ट्रेलियाविरुद्ध शनिबार खेल्दा ट्युनिसियाले पहिलो खेलमा जस्तै घरसरह समर्थन पाउने पक्का छ। डेनमार्कविरुद्ध गोलरहित बराबरीमा रोकिँदाको खेलमा ट्युनिसियाका समर्थकले ‘ट्युनिस, ट्युनिस’ नाराले रङ्गशाला नै गुञ्जयमान पारेका थिए। यस टिमलाई ट्युनिसियनले मात्र होइन प्यालेस्टाइन, इजिप्ट र अल्जेरियालीका पनि उत्तिकै समर्थन रहेको छ। 

ट्युनिसियाका प्रशिक्षक जालेल काड्रीले पनि दर्शकको अपार समर्थनले आफ्नो टिमको मनोबलमा ठूलो फरक पारेको प्रतिक्रिया दिनुभएको छ। छ पटक विश्वकप खेलिसकेको ट्युनिसिया पहिलो पटक समूह चरण पार गर्ने दाउमा छ। अस्ट्रेलियाले पाँच पल्टको सहभागीतामा एक पटक सन् २००६ मा प्रिक्वाटरफाइनलको यात्रा गरेको छ। ट्युनिसियाविरुद्ध खेल्दा अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ ले हारेकोले थप दबाबमा हुनेछ।

साउदीको अगाडि पोल्यान्ड

अर्जेन्टिनालाई स्तब्ध पारी वाहवाही कमाएको साउदी अरबले दोस्रो खेलमा पोल्यान्डको सामना गर्दैछ। पोल्यान्डलाई हराएमा साउदी अरब नकआउट चरणमा पुग्नेछ तर साउदी अरबको विश्वकपमा युरोपका टिमसँगको प्रदर्शन राम्रो छैन। साउदी अरबले विश्वकपमा खेलेका पछिल्ला १० मध्ये नौ खेल युरापेली देशसँग हारेको छ तर फरवार्ड सालेह अल सहरी यस पटक आफ्नो टिम फरक भएको बताउनुहुन्छ। 

कतार २०२२ मा हामीले इतिहास बनाइसकेका छौँ तर अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, अर्जेन्टिनाविरुद्ध गोल गर्ने अल सहरीले भन्नुभयो। पोल्यान्डले पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरीमा खेलेको थियो। साउदी अरबविरुद्धको खेलमा बालन डी ओर जितिसकेका रोवर्ट लेवान्डोस्की विश्वकपमा आफ्नो पहिलो गोल गर्ने प्रयासमा हुनुहुनेछ। विश्वकपमा चार खेल खेले पनि लेवान्डोस्कीले अहिलेसम्म गोल गर्न सक्नुभएको छैन। एजेन्सी