• ११ मंसिर २०८१, मङ्गलबार

मधेश प्रदेशमा मिश्रित परिणाम

blog

काठमाडौँ, मङ्सिर १० गते । प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ। मधेश प्रदेशमा कतिपय नयाँ अनुहार विजयी हुनुभएको छ भने कतिपय उच्च तहका नेतासमेत पराजित हुनुभएको छ।

त्यस्तै बर्दिबास समाचारदाताका अनुसार महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरत्सिंह भण्डारी निर्वाचित हुनुभएको छ।  सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का डा. विजयकुमार सिंहलाई दोब्बर बढी मतले पराजित गर्नुभएको छ। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गर्नुभएको छ। पराजित सिंहले ११ हजार १२० मत ल्याउनुभएको छ। 

महोत्तरीको क्षेत्र नं. २ बाट भण्डारीले चुनाव जितेको यो दोस्रो पटक हो। २०७४ को निर्वाचनमा उहाँ यसै क्षेत्रबाट ३० हजार ७२२ मतसहित विजयी हुनुभएको थियो। महोत्तरीमा योसमेत सातौँ पटक चुनाव जितेर इतिहास रच्नुभएका भण्डारीले जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै पटक निर्वाचित हुने कीर्तिमानसमेत कायम गर्नुभएको छ। मुलुकमा संसदीय व्यवस्था लागू भएदेखि भण्डारी कांग्रेस, स्वतन्त्र हुँदै मधेशवादी दलबाट समेत निर्वाचित हुनुभएको छ। 

हाम्रा सर्लाही समाचारदाताका अनुसार सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का हरि उप्रेती निर्वाचित हुनुभएको छ। 

सत्ता गठबन्धनका साझा उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतले पराजित गर्दै उप्रेती विजयी हुनुभएको हो। एमाले–जसपा गठबन्धनका उम्मेदवार उप्रेती ३२ हजार ९३८ मत प्राप्त गरी निर्वाचित हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का साह ३२ हजार १६८ मतमै रोकिनुभयो। 

त्यस्तै सर्लाहीको क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ। उहाँले २० हजार १७ मत प्राप्त गर्नुभएको छ। उहाँ २०७० र २०७४ सालमा नेपाली कांग्रेसबाट लगातार दुई पटक निर्वाचित हुनुभएको थियो। यो पटक भने पार्टीले टिकट नदिएपछि सिंह स्वतन्त्रबाट माछा चुनाव चिह्न लिई प्रतिस्पर्धामा उत्रिनुभएको थियो। 

हाम्रा धनुषा समाचारदाताका अनुसार धनुषा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले)का जुलीकुमारी महतो नौ हजार ७०२ भन्दा बढी मतान्तरले निर्वाचित हुनुभएको छ। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोसपाका वरिष्ठ नेता अनिलकुमार झाले २३ हजार ६८६ मत प्राप्त गर्नुभयो। 

त्यसैगरी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामकृष्ण यादव एमालेका उमाशङ्कर अरगरियाभन्दा १५७ बढी मतान्तरले विजयी हुनुभएको छ। कांग्रेसका यादवले २० हजार ११२ मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका अरगरियाले १९ हजार ९५५ मत ल्याउनुभएको छ। 

त्यस्तै रौतहट समाचारदाताका अनुसार रौतहटका निर्वाचन क्षेत्र नं. २ बाट किरण साह र  क्षेत्र नं. ३ बाट प्रभु साह विजयी हुनुभएको छ। किरण साहले ३२ हजार ८४२ मत प्राप्त गर्नुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार फिरदोस आलमलाई चार हजार ५९४ मतको अन्तरमा पराजित गर्नुभयो। पराजित उम्मेदवार आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमका जेठा छोरा हुनुहुन्छ। निर्वाचित स्वतन्त्र उम्मेदवार साहले ३२ हजार ८४२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय गौरले जनाएको छ। 

एमालेको टिकट त्याग गरी स्वतन्त्र उम्मेदवारी दिनुभएका रौतहट निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार प्रभु साहले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई सात हजार २३७ मतले पछाडि पार्नुभयो। स्वतन्त्र उम्मेदवार साह २०६४ सालदेखि निर्वाचित हुँदै आउनुभएको छ। उहाँको यो लगातार चौथो जित हो। निर्वाचन अधिकृत मेघनाथ चापागाईंले दिनुभएको जानकारीबमोजिम स्वतन्त्र उम्मेदवार साहले ३२ हजार ४३७ मत प्राप्त गर्नुभएको छ। 

यसैगरी निर्वाचन क्षेत्र नं. ४ बाट विजयी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार उद्धव रेग्मीलाई सात हजार ६२२ मतले पछाडि पार्नुभयो। नेता तिमल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको छ। उहाँको यो दोस्रो विजय हो। 

लहान समाचारदाताका अनुसार सिरहा जिल्लाका चारमध्ये तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। तीनवटै क्षेत्रमा एमाले–जसपा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। 

सिरहा क्षेत्र नं. ३ बाट पूर्वमन्त्री तथा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ २८ हजार २०६४ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्वशान्तिमन्त्री विश्वनाथ साहले २६ हजार ८८२ मत प्राप्त गर्नुभयो।

सिरहा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार रामशङ्कर यादवले २९ हजार ४६२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गर्नुभयो। चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभएको थियो। 

सिरहा क्षेत्र नं. ४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद महतो २४ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो। उहाँलाई जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहले १६ हजार २१४ मत ल्याई पछ्याउनुभएको थियो।