• १६ चैत २०८०, शुक्रबार

प्रभावशाली उम्मेदवारको पराजय

blog

काठमाडौँ, मङ्सिर १० गते । आमनिर्वाचनको मतगणना नतिजा आउनेक्रम जारी रहँदा चर्चित तथा प्रभावशाली उम्मेदवारले पराजय बेहोर्ने क्रम पनि जारी छ। यसरी पराजय बेहोर्नेमा नेकपा (एमाले)का पदाधिकारीको सङ्ख्या बढी छ भने नेपाली कांग्रेसका तीन जना सहमहामन्त्रीले पराजय सामना गरेका छन्। 

शुक्रबार सम्पन्न मत गणनाको नतिजाबमोजिम सहमहामन्त्रीद्वय उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे पराजित हुनुभएको छ। यसअघि बिहीबारको नतिजाबमोजिम कांग्रेसकै सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) पराजित हुनुभएको थियो। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल हुँदै उपमहासचिव प्रदीप ज्ञवाली पराजित हुनुभएको छ। 

निर्वाचन आयोगको पछिल्लो मत परिणामबमोजिम कांग्रेसका सहमहामन्त्री चौधरी बारा १ मा पराजित हुनुभएको छ। २०५६ सालको आमनिर्वाचनमा बारा १ बाट जित हात पारेर संसदीय राजनीतिमा प्रवेश गर्नुभएका चौधरीलाई यस पटक सोही निर्वाचन क्षेत्रबाट एमालेका अच्युत मैनालीले पराजित गर्नुभएको  छ। मैनालीले ३९ हजार ९९५ मत पाउँदा चौधरीले ३० हजार ५६ मत ल्याउनुभयो। बहालवाला खानेपानी मन्त्रीसमेत रहनुभएका चौधरीले २०७४ सालको आमनिर्वाचनमा बारा १ मै मैनालीलाई हराउनुभएको थियो। 

कांग्रेसकै अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बे पाँचथर १ बाट झिनो मतको अन्तरले हार बेहोर्नुभएको छ। आङ्देम्बेले ३२ हजार ६३ मत पाउँदा एमालेका वसन्त नेम्वाङले ३२ हजार ११० मत पाउनुभयो। 

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी नेपाली कांग्रेसका विनोद चौधरीसँग पराजित हुनुभएको छ। २०४८ सालको आमनिर्वाचनमा नवलपरासी–३ मा नेपाल सद्भावना पार्टीको उम्मेदवार भई पहिलो पटक जित हात पारेर संसदीय राजनीति सुरु गर्नुभएका त्रिपाठीले पाँच पटक जनप्रतिनिधि निर्वाचित हुनुभएको थियो। २०७० सालबाहेकका हरेक निर्वाचन जित्नुभएका त्रिपाठीले २०७९ सालमा दोस्रो हार बेहोर्नुभएको हो। त्रिपाठीले २२ हजार ३०८ मत ल्याउँदा निर्वाचित हुनुभएका चौधरीले २९ हजार ४९५ मत पाउनुभयो। 

एमालेका उपमहासचिव ज्ञवालीले हार बेहोर्नुभएको छ। उहाँलाई कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले गुल्मी २ मा पराजित गर्नुभएको छ। २०७४ सालमा सोही क्षेत्रमा भण्डारीलाई हराउनुभएका ज्ञवालीले दोस्रो पटक हार बेहोर्नुभएको छ। ज्ञवालीले ३२ हजार १५२ मत ल्याउँदा प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएका भण्डारीले ३३ हजार ७४४ मत पाउनुभयो। प्रदेश १ का पहिलो मुख्यमन्त्री एवं एमालेका नेता शेरधन राईले भोजपुर १ मा हार बेहोर्नुभएको छ। उहाँलाई माओवादी केन्द्रका सुदन किराँतीले पराजित गर्नुभएको हो। किराँतीले २८ हजार ५८८ मत पाउँदा राईले २६ हजार १९३ मत पाउनुभयो। 

एमालेकै अर्का चर्चित नेता लालबाबु पण्डित पराजित हुनुभएको छ। उहाँलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ ६ मा पराजित गर्नुभएको छ। पण्डितले यसअघि सोही क्षेत्रमा कोइरालालाई पराजित गर्नुभएको थियो। निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमालेमा आबद्ध भएर चर्चामा आउनुभएका उमाशङ्कर अरगरिया धनुषा २ बाट पराजित हुनुभएको छ। उहाँलाई कांग्रेसका रामकृष्ण यादवले पराजित गर्नुभयो। यादवले २० हजार ११२ मत पाउँदा अरगरियाले १९ हजार ९५५ मत ल्याउनुभयो। यसअघि अरगरिया सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो। 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा पराजित हुनुभएको छ। उहाँलाई एमालेकी जुली महतोले धनुषा ३ मा पराजित गर्नुभएको छ। महतोले ३३ हजार ३५५ मत ल्याउँदा झाले २३ हजार ६८६ मत पाउनुभयो।