• १२ वैशाख २०८१, बुधबार

युवामा राजनीतिक आकर्षण रहेको निर्वाचनबाट पुष्टि : अध्यक्ष ओली

blog

विजय पश्चात मतदाताहरुमाझ झापाको दमकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा राजनीतिक आकर्षण नरहेको भन्ने विषयलाई अहिलेको निर्वाचनले चिरेको बताउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विजय उत्सव मनाउन तथा मतदाताहरूसँग भेट्न गृहनगर दमक आउनुभएका ओलीले सो कुरा बताउनुभएको हो ।

युवाहरूमा राजनीतिप्रति विकर्षण नरहेको बरु आकर्षण रहेको निर्वाचनले देखाएको उहाँले बताउनुभयो । “निर्वाचनप्रति, चुनावप्रति युवाको आकर्षण छैन सिद्धियो भन्ने बाहिर हल्ला थियो, युवाहरूको उम्मेदवारकै पङ्क्ति देख्दा त्यो कुरा होइन रहेछ भन्ने स्पष्ट रूपमा देखियो” अध्यक्ष ओलीले भन्नुभयो । 

ओलीले राष्ट्रिय राजनीतिलाई खेलबाडको रूपमा लिइन नहुने भन्दै राजनीतिलाई लोकतान्त्रिक बनाउन निर्वाचनको अपरिहार्यता रहेको बताउनुभयो । निर्वाचनलाई रमाइलोको रूपमा हेर्ने विषय नभएको टिप्पणी उहाँले गर्नुभयो ।  

निर्वाचनको परिणामप्रति सङ्केत गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचनको गम्भीरतालाई बुझेर उम्मेदवार उठ्ने, उम्मेदवार उठाउने र मतदान गर्ने अवस्था सिर्जना हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताउनुभयो । आफूले आम मतादाताको निर्णय र मतको सम्मान गर्ने भन्दै ओलीले परिणामले निर्वाचनको गम्भीरतालाई त्यति धेरै आत्मसाथ नभएकोजस्तो देखिएको बताउनुभयो । 

देशलाई सही बाटोमा हिँडाउन एक मतको ठूलो महत्त्व हुन्छ र त्यो मतलाई बिचार एवम् सिद्धान्तलाई बुझेर प्रयोग गर्दा न्यायोचित हुने उहाँले बताउनुभयो । “राजनीतिक दलहरूले जनतालाई बुझाउन नसकिएको हो कि ? जनताको मागलाई उपयुक्त ढङ्गले सम्बोधन र सुनुवाइ गर्न नसकेर पो हो कि ? यस्ता विषयमा अब गम्भीर समीक्षा जरुरी छ” ओलीको भनाइ छ ।

निर्वाचन परिणामले स्थायित्व र स्थिरता नदिने सङ्केत गरेको भन्दै ओलीले यसले मुलुकको विकास र प्रगतिमा अवरोध आउन सक्नेमा चिन्ता रहेको बताउनुभयो । “मिलीजुली सरकार बनाउन तिर अब राजनीतिक दलहरू लाग्नु पर्ने अवस्था आएको छ र अब सुरुवातदेखि नै मोलतोल, लेनदेन सुरु हुन्छ” अध्यक्ष ओलीले भन्नुभयो ।