भक्तपुर, मङ्सिर ९ गते । कतिपय निर्वाचन क्षेत्रमा एउटै व्यक्ति र दलले निरन्तर निर्वाचन जितेको समाचार आइरहे पनि भक्तपुर निर्वाचन क्षेत्र नं. २ को निर्वाचनको इतिहासले भने फरक परिदृश्य देखाउँदै आएको छ । यस क्षेत्रका मतदाताले हरेक निर्वाचनमा फरक–फरक राजनीतिक दल र उम्मेदवारलाई अवसर दिँदै आएका छन् । यस पटकको निर्वाचन परिणामले पनि त्यस्तै परिदृश्य देखाएको छ । २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि २०४८ सालदेखि २०७९ सालसम्मको आमनिर्वाचनसम्म यहाँका मतदाताले हरेक पटक फरक–फरक दललाई विजयी गराउँदै आएका छन् । भक्तपुर क्षेत्र नं. २ को मतपरिणामले पनि यस्तै देखाएको छ । गत आइतबार सम्पन्न प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा २४ हजार २३९ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश बस्नेत २३ हजार २८२ मत प्राप्त गरी पराजित हुनुभयो ।
यस क्षेत्रमा २०४८ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेपाल मजदुर किसान पार्टीका आशाकाजी वासुकला, २०५६ सालमा नेपाली कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति, २०७० सालमा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य थापाले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकास निर्माणको कार्यलाई प्राथमिकतामा राख्दै सुशासनमैत्री नीति बनाउन संसद्मा क्रियाशील रहने बताउनुभयो । कांग्रेसको दरिलो सङ्गठन र गठबन्धनसहित शुभेच्छुकको सहयोगले आफूले निर्वाचन जित्न सकेको उहाँले बताउनुभयो । थापा सानैदेखि सामाजिक कार्यमा क्रियाशील रहँदै आउनुभएको थियो । उहाँले २०४३ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता प्राप्त गर्नुभएको थियो । २०५६ सालमा नेविसङ्घको केन्द्रीय सदस्यता प्राप्त गर्नुभयो । उहाँ नेपाली कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि एवं १३औँ र १४औँ महाधिवेशनमा भक्तपुर जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो ।