• ११ मंसिर २०८१, मङ्गलबार

बैतडीमा माओवादीका कुँवरको अग्रता

blog

तस्विर : माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र कुँवर र एमालेका उम्मेदवार दामोदर भण्डारी ।

बैतडी, मङ्सिर ८ गते । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ । कुँवरलाई नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले पछ्याइरहनु भएको छ । 

पचास हजार चार सय ९ मतगणनामा कुँवरले २२ हजार दुई सय ३० मतसहित अग्रस्थानमा हुनुहुन्छ भने नेकपा एमालेका भण्डारीले २० हजार आठ सय ७० मत लिएर पछ्याइरहनुभएको छ । अहिले सुर्नया गाउँपालिका र पाटन नगरपालिकाको मतगणना भइरहेको छ । पाटन नगरपालिका एमालेका उम्मेदवार भण्डारीको स्थानीय पालिका हो ।  

कुल १० स्थानिय तह र ८४ वडा रहेको बैतडीका स्थानिय तहका वडा अनुसार मतगणना भइरहेको छ । डिलासैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पुरचौडी नगरपालिका, मेलौली नगरपालिका र  सिगास गाउँपालिकाको मतगणना सकिएको छ भने पाटन नगरपालिका र सुर्नया गाउँपालिका मतगणना भइरहेको छ । 

मुख्य निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिको मतगणना बाँकी छ । प्रदेशसभाको मत परिणाम सार्वजनिक भइसकेकाले प्रतिनिधि सभातर्फको मत तीन ठाउँमा गणना भइरहेको छ । प्रतिनिधि सभातर्फको मत परिणाम आजै आउने बताइएको छ । 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बैतडीबाट  ७८ हजार ३६९ मत खसेको थियो ।