काठमाडौँ, मङ्सिर ८ गते । प्रतिनिधि सभा निर्वाचनमा उपत्यकाभित्र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शून्य भएको छ । प्रतिनिधि सभातर्फ काठमाडौँ जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये माओवादीबाट गठबन्धनका साझा उम्मेदवार चार जना थिए ।
ओनसरी घर्ती काठमाडौँ क्षेत्र नं. २, बद्रीप्रसाद बजगाईँ क्षेत्र नं. ३, कल्पना धमला क्षेन नं. ९, अञ्जना विशङ्खे क्षेत्र नं. १० र मानुषी यमी भट्टराई क्षेत्र नं. ७ मा उम्मेदवार हुनुहुन्थ्यो । तर, सबै पराजित हुनुभएको छ । यमी नेपाल समाजवादी पार्टीकी नेता भए पनि माओवादीको चुनाव चिह्नबाट गठबन्धनको साझा उम्मेदवार हुनुहुन्थ्यो ।
ललितपुरका तीन निर्वाचन क्षेत्रमध्ये गठबन्धनबाट माओवादीले क्षेत्र नं. ३ मा ऊर्जामन्त्री पम्फा भुसाललाई उम्मेदवार बनाएको थियो । उहाँले पनि पराजय भोग्नुपरेको छ । प्रतिनिधि सभातर्फ दुईवटा क्षेत्र रहेको भक्तपुरमा क्षेत्र नं. १ मा सुनील गोठे बुधबार साँझसम्म चौथो स्थानमा हुनुहुन्छ । भक्तपुर क्षेत्र नं. २ मा गठबन्धनबाट माओवादीको उम्मेदवार थिएन ।
काठमाडौँका १० निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस पाँच स्थानमा विजयी भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थान र नेकपा (एमाले) एक सिटमा विजयी भएको छ । त्यस्तै ललितपुरको तीनवटा निर्वाचन क्षेत्रमा क्रमशः नेपाली कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक–एक सिट जितेका छन् ।