घोराही, मङ्सिर ८ गते । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली काँग्रेस डिल्लीबहादुर चौधरी विजयी हुनुभएको छ ।
गठबन्धनदलका तर्फबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार चौधरी गणना भएको कुल ४० हजार ७ सय ८९ मत मध्ये १९ हजार ८ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत प्राप्त गर्नुभएको छ ।
विजयी नेपाली काँग्रेसका नेता चौधरीले पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पराजित पाण्डेय तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।
२०७४ सालको निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादीबिच बनेको गठबन्धनले दाङका ३ प्रतिनिधिसभा सदस्यसहित ८ वटा प्रदेशसभा सदस्य जित्दा काङ्ग्रेसबाट चौधरी मात्रै विजयी हुनुभएको थियो ।