• १५ वैशाख २०८१, शनिबार

ब्राजिलले सर्बियाको चुनौती पार गर्ने अपेक्षा

blog

दोहा, मङ्सिर ८ गते। ब्राजिल सर्वाधिक पाँच पटक विश्वकप जितेको र अहिले फिफा वरीयतामा नम्बर एक स्थानमा रहेको टिम हो। त्यसैले पनि ब्राजिललाई धेरै प्रस्ट उपाधि विजेताका रूपमा लिँदै छ। 

अन्तिम पटक विश्वकप खेल्दै गरेका लिजेन्ड नेमारको प्रेरणामा रहेको ब्राजिलियाली टिममा एक से एक प्रतिभाशाली खेलाडी छन्। ब्राजिलको टिममा विश्वस्तरीय नौ स्ट्राइकर नेमार, भिन्सियर जुनियर, रोड्रिगो, रिचर्लिसन, राफिन्हा, एन्टोनी, गाब्रियल जेसस, गाब्रियल मार्टिनेली र पेड्रो रहेका छन्। यद्यपि नेमार र जेसससँग मात्र विश्वकप खेलेको अनुभव छ।

उपाधि अभियानअन्तर्गत ब्राजिलले पहिलो खेलमा सर्बियाविरुद्ध खेल्दै छ। सर्वाधिक विश्वकपको ट्रफी उचाल्ने टिम भए पनि ब्राजिलले सन् २००२ पछि विश्वकप च्याम्पियनको गौरव हासिल गर्न सकेको छैन। ब्राजिलका प्रशिक्षक टिटेले विगतका कमजोरी स्वीकार्दै यसपटक पुराना गल्तीबाट पाठ सिकेर प्रतियोगितामा अगाडि बढ्ने जानकारी दिनुभयो।

अहिलेसम्म सबै विश्वकप खेल्ने एक ब्राजिल पछिल्ला १५ खेलमा अपराजित पनि छ। त्यसैले पनि समूह जीमा सर्बियाविरुद्ध खेल्दा ब्राजिललाई कठिन नहुने अनुमान गरिएको छ। एक स्वतन्त्र राष्ट्र बनेपछि सर्बियाले तीन पटक विश्वकप खेलेको छ। सबै पटक सर्बियाको चुनौती समूह चरणमै सकिएको थियो। यद्यपि यसपटक सर्बिया छनोटमा अपराजित बन्दै कतार पुगेको हो। त्यसैले सर्बियाले पहिलो खेलमा ब्राजिलको परीक्षा लिने अपेक्षा गर्न सकिन्छ। यसअघि यी दुई टिमबीच भएको दुई भिडन्तमा ब्राजिल दुवैमा विजयी बनेको थियो। 

पोर्चुगललाई टक्कर दिन सक्षम घाना

विश्वकै महान् फुटबलमध्ये एकको गन्तीमा परेका क्रिस्टियानो रोनाल्डोको परिस्थिति अहिले राम्रो छैन। विश्वकप फुटबलमा पोर्चुगलले बुधबार पहिलो खेल घानाविरुद्ध खेल्दै छ। तर सो खेलको एक दिनअघि म्यान्चेस्टर युनाइटेडले रोनाल्डोलाई टिमबाट छुट्टी दिएको छ। यद्यपि सेन्टर ब्याक रुवेन डियासले रोनाल्डोको यी नकारात्मक चर्चाले पोर्चुगल विचलित नभएको बताउनुभएको छ। उहाँका अनुसार पोर्चुगलका खेलाडीहरूको आफ्ना कप्तान रोनाल्डोसँग राम्रो सम्बन्ध छ। जुन महत्त्वपूर्ण कुरा हो। अहिले हामी सबै एकजुट भएर विश्वकपमा केन्द्रित भएका छौँ। योबाहेक टिममा अन्य विषय छैन, उहाँले भन्नुभयो।

उरुग्वे र दक्षिण कोरिया पनि भएको समूहमा पोर्चुगललाई समूह एच पार गर्न सहज छैन। त्यसैले पहिलो खेलमा घानालाई हराएमा पोर्चुगललाई नकआउट चरणमा पुग्न धेरै सहज हुनेछ। यद्यपि युवा खेलाडीको जमात लिएको कतार आएको अफ्रिकी टिम घाना निकै क्षमता भएको टिम हो। एट्लेटिको म्याड्रिडका इनाकी विलियम्स, आयाक्सबाट खेल्ने मोहम्मद कुडुज र आर्सनलका थोमस पार्टीका रूपमा घानासँग विश्वस्तरीय खेलाडी छन्। विश्वकपमा घाना विपक्षीको गोलपोस्टमा सबैभन्दा धेरै सट प्रहार गर्ने टिमका रूपमा पनि रहेको छ। घाना शारीरिक र प्राविधिक रूपमा उत्तिकै बलियो टिम हो। घानाका प्रायः खेलाडी युरोपका शीर्ष लिगमा खेल्छन्, त्यसैले पनि पोर्चुगललाई पहिलो खेल कठिन हुन सक्छ।

यद्यपि रोनाल्डो आफ्नो पाँचौँ तथा सम्भवतः अन्तिम विश्वकपमा खेल्दै छ। त्यसैले पनि रोनाल्डोले यस विश्वकपमा केही विशेष देखाउन सक्छ। सोही प्रेरणाले पनि युरो २०१६ को च्याम्पियन पोर्चुगललाई कतार विश्वकपको दाबेदारीबाट झिक्न मिल्दैन।

सनको आशामा कोरिया

विश्वकप फुटबल २०२२ अन्तर्गत उरुग्वे र दक्षिण कोरियाबीचको खेलमा टोटनहामका स्ट्राइकर सन हिउङ मिनले खेल्छ या खेल्दैनन् भन्नेमै चासोको विषय बनेको छ। तीन हप्ताअघि च्याम्पियन्स लिगमा मार्सेविरुद्ध खेल्दा घाइते भएका सन त्यसपछि राष्ट्रिय टिममा रहे पनि खेल्नेमा शङ्का उत्पन्न भएको हो। सनले दक्षिण कोरियाका लागि ३५ गोल गर्नुभएको छ। यसैगरी गत वर्ष उहाँ प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुनुहुन्छ। तर सन मैदानमा नदेखिएको तीन हप्ता भइसकेको छ। सनले सुरक्षा दिने मास्क लगाएर खेल्ने चर्चा पनि चल्दै छ, उहाँको बायाँ आँखामा चोट लागेको छ। सनले खेल्न सकेन भने दक्षिण कोरियाको आक्रमण कमजोर देखिनेछ। प्रशिक्षक पाउले बेन्टोसँग सनजस्तो सक्षम अन्य स्ट्राइकर छैन। वोल्भ्सबाट खेल्ने ह्वाङ हि–चानले प्रिमियर लिगमा ११ खेल खेले पनि गोल गर्न सक्नुभएको छैन। ग्रीसको ओलम्पियाकोसबाट खेल्ने ह्वाङ वि जो पनि सङ्घर्षरत हुनुहुन्छ। 

उरुग्वेका प्रमुख स्ट्राइकर एडिसन काभानी पनि गोलीगाँठेको चोटमा हुनुहुन्छ। तर उरुग्वेसँग कम्तीमा लुइस सुवारेजको रूपमा अर्को विश्वस्तरीय फरवार्ड छ। सुवारेजले विश्वकपमा सात गोल गरिसक्नुभएको छ। 

पहिलो खेलमा सधैँ राम्रो खेल्ने स्विट्जरल्यान्ड

विश्वकप फुटलमा स्विट्जरल्यान्ड पहिलो खेलमा सधैँ राम्रो खेल्ने गर्छ। विश्वकपमा क्यामरुनको पहिलो खेलमा अपराजित यात्रा छ खेल पुगिसकेको छ। सन् १९६६ मा जर्मनीसँग ५–० ले हारेपछि स्विट्जरल्यान्डले विश्वकपमा पहिलो खेलमा पराजय बेहोरेको छैन। समूह जीमा क्यामरुनविरुद्ध खेल्दा स्विट्जरल्यान्डको लक्ष्य सोही अपराजित यात्रालाई कायम राख्नु हुनेछ। 

यसैगरी स्विट्जरल्यान्ड लगातार तेस्रो पटक नकआउट चरणमा पुग्ने दाउमा छ। अफ्रिकी टिम क्यामरुन पनि विश्वकमा नामी टिम हो यसपटक नाइजेरियालाई हराएर विश्वकपमा पुगेकाले पनि क्यामरुनबाट कतारमा धेरै अपेक्षा गरिएको छ। बायर्न म्युनिखबाट खेल्ने क्यामरुनका फरवार्ड इरिक म्याक्सिम चोउपो मोटिङमा सबैको नजर रहनेछ। समूह जीमा ब्राजिल र सर्बिया पनि रहेकाले यी दुवै टिमलाई पहिलो खेलमा जित महत्त्वपूर्ण हुनेछ। एजेन्सी