• ९ जेठ २०८१, बुधबार

विश्वकपमा सफल टिम जर्मनी

blog

दोहा, मङ्सिर ७ गते । हाल केही कमजोर प्रदर्शन भए पनि विश्व फुटबलमा सर्वाधिक सफल टिममध्ये एक जर्मनीलाई विश्वकप उपाधि दाबेदारीको सूचीबाट झिकिएको छैन। जर्मनी चार पटक विश्वकप जितेको टिम हो। यद्यपि हालको प्रदर्शन हेर्ने हो भने जर्मनीले छमध्ये एक खेल मात्र जितेको छ  ।

तर जर्मनी विश्वकपमा सधैँ राम्रो प्रदर्शन गर्ने टिम हो। यद्यपि चार वर्षअघि भने मेक्सिको र दक्षिण कोरियासँग हारेपछि जर्मनी समूह चरणबाट बिदा भएको थियो। जापानविरुद्ध खेलेर विश्वकप २०२२ को सुरुवात गर्दा जर्मनीको उद्देश्य सोही नियति यस विश्वकपमा दोहोर्‍याउने हुनेछ।

जर्मनीलाई यस पटक समूह चरण पार गर्न जापानविरुद्धको जित महत्त्वपूर्ण हुनेछ। स्पेन र कोस्टारिका पनि रहेकाले समूह ई निकै कठिन छ। त्यसैले यस समूहमा रहेका सबै टिमलाई पहिलो खेल निकै महत्त्वपूर्ण हुनेछ। नेसन्स लिगमा अपेक्षाकृत प्रदर्शन हुन नसके पनि जर्मनीले विश्वकप छनोटमा प्रभावशाली प्रदर्शन गरेको थियो। आयोजक कतारपछि हान्सी फ्लिकको प्रशिक्षकत्वमा जर्मनी विश्वकपमा स्थान बनाउने पहिलो राष्ट्र बनेको थियो। युरोपेली छनोटमा जर्मनीले ३६ गोल गरेको थियो। सो छनोटमा जर्मनीभन्दा बढी गोल इङ्गल्यान्ड (३९)ले मात्र गरेको छ। 

विश्वकपमा पहिलो पटक खेल्ने क्रममा रहेका जर्मनीका खेलाडी जमाल मुसियालाले आफ्नो टिमको लक्ष्य उपाधि जित्ने रहेको र त्यसले पहिलो खेललाई उत्सुकताका साथ पर्खिरहेको बताउनुभयो। बायर्न म्युनिखका १९ वर्षीय मुसियलालाई जर्मनीको हेर्नलायक खेलाडीका रूपमा लिइएको छ। यस सत्रमा उहाँले बुन्डेसलिगामा नौ गोल गर्नुका साथै छ गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको छ।

जापानले विश्वकपमा पछिल्ला आठमध्ये एक खेल मात्र जितेको छ। यद्यपि सन् २०१८ मा कोलम्बियाविरुद्ध हात पारेको सोही एक जितले जापानलाई दोस्रो चरणमा पुर्‍याएको  थियो। जापान लगातार सातौँ पटक विश्वकपमा सहभागी भएको हो। जापानले जर्मनीविरुद्धको खेलमा ताकुमी मिनामिनो चम्किने अपेक्षा गरेको छ। मुसियलासरह मिनामिनो पनि विश्वकपमा पहिलो पटक खेल्दै हुनुहुन्छ। लिभरपुलबाट खेलिसकेका मिनामिनो अहिले फ्रान्सको मोनाकोका लागि खेल्ने गर्नुहुन्छ। उहाँले विश्वकप छनोटमा दस गोल गर्नुका साथै चार गोलमा सहयोगीको भूमिका निर्वाह गरेर जापानलाई कतार विश्वकपको टिकट दिलाउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो। एजेन्सी