• १२ मंसिर २०८१, बुधबार

पोखरा विमानस्थलमा परीक्षण उडान सुरु

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ७ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सुरु भएको छ । एरो थार्ई जहाजले सोमबारदेखि पोखरा विमानस्थलमा परीक्षण उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका लागि एरो थार्ई कम्पनीको जहाज शनिबार पोखरा आइपुगेको थियो । सोही जहाजले परीक्षण उडानमार्फत विमानस्थलमा सञ्चार, नेभिगेसन र निरीक्षणमा जडित उपकरणले काम गरे नगरेको विषयमा जाँच गर्नेछ । प्राधिकरणका अनुसार एरो थार्ईको जहाजले एक हप्ता पोखरा विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

थाई एयरले नै गत वर्ष फागुन ६ मा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो । एरो थार्ईको प्राविधिकसहितको विशेष जहाजले १० दिनसम्म परीक्षण उडान गरेको थियो ।

पोखरामा हुने परीक्षण उडान मङ्सिर ११ सम्म हुनेछ । एरो थार्ईले दैनिक अधिकतम छ घण्टा उडान गर्दै छ । विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार नयाँ विमानस्थलको परीक्षणमा चारवटा प्रविधि तथा उपकरणको परीक्षण गरिनेछ । यो अवधिमा विमानस्थलको डिभिओर, आईएलएस, डीएमआई र पीएपीआईको मुख्य परीक्षण गरिने उहाँले बताउनुभयो । पोखरा विमानस्थलको परीक्षण उडान सकिएपछि थाई एयरले प्रतिवेदन बुझाउनेछ । सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा उडान गरिने मुनाकर्मीले बताउनुभयो । 

परीक्षण उडानसमेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि उडान कम्पनीले अनुमति पाउनेछन् । 

१ जनवरी २०२३ (पुस १७)देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले व्यावसायिक उडान गर्ने निर्णय यसअघि नै गरिसकेको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने बुद्ध एयरको तयारी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडानका कारण पोखरा विमानस्थलको नियमित उडान प्रभावित भएको छ । परीक्षण उडानले पोखरा विमानस्थलको दैनिक करिब ३० वटा नियमित उडान प्रभावित भएको छ ।

विमानस्थल नजिकै रहेको ल्यान्डफिल क्षेत्रका कारण परीक्षण उडान प्रभावित हुने भएपछि उक्त क्षेत्रलाई ढाकेर चराजन्य गतिविधि कम गरिएको छ । आयोजनाले सुरुवातदेखि नै उक्त क्षेत्रको विकल्प खोज्न पटक–पटक अनुरोध गरे पनि पोखरा महानगरपालिकाले अझैसम्म विकल्प दिन सकेको छैन । तत्काललाई मङ्सिर ५ देखि उक्त क्षेत्रमा फोहोर नफाल्न आयोजनाले पोखरा महानगरलाई अनुरोध गरेको छ ।

पोखरा विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो । सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा छ महिनाअघि नै सक्ने लक्ष्यका साथ योजनाको काम भइरहेको थियो । कोभिड सङ्क्रमणका कारण विमानस्थल निर्माण ढिला भएको हो । करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको यस विमानस्थलमा दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ ।