• १२ मंसिर २०८१, बुधबार

भूमिस्थ सेवा नखोस्न निगमको आग्रह

blog

काठमाडौँ, मङ्सिर ७ गते । नेपाल वायुसेवा निगमले सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ) सेवा आफूलाई दिन आग्रह गरेको छ।

स्थापनाकालदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा दिँदै आएको निगमले पोखरामा उक्त जिम्मेवारी आफूलाई दिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरेको हो। 

लामो समयदेखि भूमिस्थ सेवामा व्यवस्थापकीय अनुभव, सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक र स्रोत साधनमार्फत भूमिस्थ सेवा दिँदै आएको दाबीसहित निगमले अन्तर्राष्ट्रियस्तरको आईएसएजीओ सर्टिफिकेट मान्यताप्राप्त भूमिस्थ सेवाका लागि तयार रहेको जनाएको छ। हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा दिँदै आएको छ। 

हाल यान्त्रिक उडान भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने तयारी गरेको छ। प्राधिकरणले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा समेत व्यावसायिक प्रतिस्पर्धाबाट भूमिस्थ सेवा दिने तयारी गरेको छ।

गत कात्तिक १८ गते हिमालय एयरलाइन्सको भैरहवा–क्वालालम्पुर चार्टर उडानको उद्घाटन कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरामा निगमलाई भूमिस्थ सेवा नदिने घोषणा गर्नुभएको थियो। हाल निगमले काठमाडौँ विमानस्थलमा गरिरहेको भूमिस्थ सेवाबाट वार्षिक राम्रो आम्दानी गरिरहेको छ। भूमिस्थ सेवा निगमको मुख्य आम्दानीको स्रोत हो।

त्यस्तै निगमले काठमाडौँ–नयाँदिल्ली–काठमाडौँ सेक्टरमा साप्ताहिक १० उडान गर्ने अनुमति पाएको जनाएको छ। निगमले प्राधिकरणसँग सन् २०२२ सेप्टेम्बर १५ मा दिल्लीका लागि १४ उडान अनुमति मागेको थियो तर निगमले मङ्गलबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले १० उडान गर्न मात्रै स्वीकृति दिएको जनाएको हो। दिल्लीको मात्र नभई अन्य उडान पनि कटौती गरिएको निगमले जनाएको छ।

निगमले दिल्लीमा १४, दोहा, मलेसिया र दुबई सात/सात, रियाद छ, मुम्बई, बैङ्ग्लोर, हङकङ, बैङ्कक र नारिता तीन/तीन गरी सातामा ५६ उडान गर्न प्राधिकरणसँग अनुमति मागेको थियो तर प्राधिकरणले अक्टोबर २३ मा सातामा ४२ उडानको मात्र स्वीकृति दिएको निगमले जनाएको छ।

प्राधिकरणले उडान कटौती गरेसँगै निगमले आफ्नो आम्दानी घट्ने तथा रद्द उडानका यात्रुलाई रि–राउटिङ गर्दा अतिरिक्त लागतको भारसमेत बेहोर्नुपर्ने जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल विभिन्न १० गन्तव्यमा उडान गर्दै आएको छ। काठमाडौँ–दिल्ली–भैरहवा–काठमाडौँ सेक्टरमा साताको चार उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइएको निगमले उल्लेख गरेको छ।