• ५ जेठ २०८१, शनिबार

रोकिएका हस्ती

blog

विश्वका उत्कृष्ट फुटबल खेलाडीले आफ्नो प्रतिभा देखाउने सबभन्दा ठूलो मञ्च हो विश्वकप फुटबल तर हरेक संस्करणमा कोही न कोही विश्व चर्चित फुटबलरको अनुपस्थिति रहने गर्दछ। प्रत्येक संस्करणमा चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका उत्कृष्ट खेलाडी दर्शक मात्रै बन्न बाध्य हुन्छन्। 

अल्फ्रेडो डि स्टेफानो, जर्ज बेस्ट, जर्ज वेह, इरिक क्यान्टोनाजस्ता लिजेन्ड फुटबलरले विश्वकपमा खेल्ने अवसर नै पाएका थिएनन्।  यसपालि पनि केही ठूला नाम छन्, जो विश्वकपमा देखिने छैनन्। 

इर्लिङ हाल्यान्ड (नर्वे)

यस सत्रमा विश्व फुटबलमा सबभन्दा बढी कुनै खेलाडीको चर्चा छ भने ती हुन् नर्वेका २२ वर्षीय स्ट्राइकर इर्लिङ हाल्यान्ड। यस सत्रमा हाल्यान्ड प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीमा आबद्ध भए। आफ्नो पहिलो सत्रमै हाल्यान्डले तहल्का मच्चाए। उनले सिटीका लागि ११ प्रिमियर लिगमा १७ गोल गरिसकेका छन्। यो लेख तयार पार्दासम्म हाल्यान्डले लिगका दुई खेलमा मात्र गोल गर्न सकेका छैनन्।

हाल्यान्डले अहिलेसम्म १५ खेलमा आफ्नो गोल सङ्ख्या २२ पु¥याइसकेका छन्। दायाँ खुट्टा, बायाँ खुट्टा, हेडर, फ्रिकिक सबै तरिकाले गोल गर्न सक्षम हाल्यान्ड हाल विश्वका सबभन्दा खतरनाक स्ट्राइकर हुन् तर उनको देश नर्वे चयन हुन नसक्दा कतार विश्वकप हाल्यान्डबिनाको हुने भएको छ। 

समूह ‘जी’मा भएको अन्तिम छनोट खेलमा नेदरल्यान्ड्सलाई हराउन नसकेपछि नर्वे छनोट हुन असफल भएको थियो। नेदरल्यान्ड्ससँगको पहिलो लेगको खेलमा हाल्यान्डकै गोलले खेल १–१ ले बराबरीमा सकियो तर निर्णायक खेलमा हाल्यान्डले घाइते भएर उपस्थिति जनाउन नसक्दा नर्वे पराजित भयो। सो खेल २–० ले जितेर नेदरल्यान्ड्स विश्वकपमा छनोट भयो भने नर्वे तेस्रो स्थानमा खुम्चियो। 

हाल्यान्डले नर्वेका लागि पनि २३ गोलमा २१ गोल गरेका छन्।  हाल्यान्डले छनोटमा पनि छ खेलमा पाँच गोल गरेर नर्वेलाई विश्वकप नजिक पु¥याएका थिए। जुन गजबको औसत हो। अब नर्वे र हाल्यान्डसमक्ष सन् २०२६ को विश्वकप कुर्नुबाहेक अर्को विकल्प छैन। 

मोहम्मद सलाह (इजिप्ट)

इङ्ग्लिस प्रिमियर लिगमा गत सत्र गोल्डेन बुट जित्ने मोहम्मद सलाहका लागि विश्वकप छनोट भने पीडादायी रह्यो। उनको टिम इजिप्ट प्लेअफमा सेनेगलसँग टाइब्रेकरमा हारेपछि विश्वकपमा चयन हुन सकेन। पेनाल्टीमा गोल गर्न नसक्ने खेलाडी सलाह नै थिए।

उनले पेनाल्टीमा प्रहार गरेको बल गोलपोस्ट माथिबाट गएपछि इजिप्टको विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो। जसले सलाह र उनका समर्थकलाई थप पीडा दियो। हुन त इजिप्टका जादुगर फुटबलरले पेनाल्टी प्रहार गर्न जाँदा दर्शकदीर्घाबाट कैयौँ लेजरद्वारा सलाहलाई लक्ष्य बनाइएको कुरालाई पनि बिर्सनु हुन्न। 

सलाह अहिले लिभरपुलका लिजेन्ड खेलाडी बन्ने बाटोमा छन्। यद्यपि यस सत्रमा उनको खेल अलि खस्केको छ। यस सत्रमा १२ खेलमा सलाहले चार गोल मात्र गर्न सफल भएपछि लिभरपुल जितकै लागि सङ्घर्षरत छ। यसबाट पनि सलाहको महìव थाहा पाउन सकिन्छ। विश्वमा फुटबल समर्थकको कुरा गर्ने हो भने लिभरपुललाई समर्थन गर्ने सबभन्दा बढी छन् भनिन्छ। त्यसैले पक्कै पनि इजिप्ट मात्र होइन लिभरपुलका समर्थकलाई पनि कतार–२०२२ विश्वकपमा सलाह खड्कने छन्। अन्य तटस्थ फुटबल समर्थक पनि सलाहको मुस्कान र रोमाञ्चक आक्रामक फुटबल हेर्नबाट वञ्चित हुनेछन्।

पल पोग्बा (फ्रान्स) 

विश्वकप सुरु हुन तीन हप्ताअघि मात्र घुँडाको चोटले विश्वका उत्कृष्ट मिडफिल्डरमध्ये एक पल पोग्बाले नखेल्ने खुलासा भएपछि करोडौँ समर्थक निराश बनेका छन्। २९ वर्षीय पोग्बाले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा मिडफिल्डमा चमत्कारी प्रदर्शन गरेका थिए तर अब उनको जादु पुनः विश्वकपमा देख्न नपाइने भएको छ। 

उमेरको हिसाबले पोग्बा अहिले खेल जीवनकै उत्कृष्ट समयमा हुनुपर्ने हो तर यस सत्रमा उनलाई चोटले पिरोलेको छ। पोग्बाले पछिल्लो पटक आधिकारिक खेल गत अप्रिलमा खेलेका थिए। अफ सिजनमा म्यान्चेस्टर युनाइटेडबाट युभेन्टस्मा गएपछि उनको समस्या अझै बल्झेको हो। 

प्रिसिजनअन्तर्गत गत जुलाईमा अमेरिकामा भएको खेलमा पोग्बाको चोट बल्झिएको थियो। सेप्टेम्बरको सुरुमा घुँडाको शल्यक्रिया गरेपछि पोग्बा विश्वकपसम्म तयार भइसक्ने अनुमान गरियो तर पोग्बाको एजेन्टले पोग्बा अझै दुरुस्त नभएको जानकारी दिएपछि उनले विश्वकपमा नखेल्ने पक्का भयो। पोग्बाको दशा यतिमा मात्र सीमित छैन। पोग्बा अहिले आफ्ना दाजु र बाल्यकालका साथी संलग्न रहेको आपराधिक काण्डमा पनि फसेका छन्।

गियान्लुगी डोनारुमा (इटाली)

गियान्लुगी डोनारुमा अहिलेका निर्विवाद सर्वश्रेष्ठ गोलरक्षक हुन् तर उनी पनि विश्वकपमा देखिने छैनन्। इटाली आश्चर्यजनक तरिकाले लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि डोनारुमालाई कतार जाने मौका मिलेन। 

युरो–२०२० को च्याम्पियन हो इटाली। गत वर्ष इटालीले इङ्ग्ल्यान्डमा युरो कप जित्दा डोनारुमाको चर्चा चुलिएको थियो। सो प्रतियोगितामा डोनारुमा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए तर युरोपेली च्याम्पियन बनेको आठ महिनापछि इटाली विश्वकपमा चयन हुन असफल भयो। 

जुलाईमा मात्र आफ्नो खेल जीवनको सबभन्दा ठूलो खुसी अनुभूति गरेका डोनारुमाले एक वर्ष पनि नबित्दै आफ्नो खेल जीवनमा सबभन्दा ठूलो निराशा महसुस गरे। इटाली विश्वकपमा नपुग्नुमा कहीँ न कहीँ गल्ती डोनारुमाको पनि थियो। उत्तरी मेसिडोनियाका अलेक्ज्यान्डर ट्रकोभ्स्कीले इन्जुरी टाइममा निर्णायक गोल गरेर डोनारुमा र इटालीलाई स्तब्ध पारेका थिए।  

डोनारुमालाई विश्वकै महान् गोलरक्षक गियान्लुगी बफनको उत्तराधिकारीका रूपमा लिइन्छ। यद्यपि डोनारुमासँग अझै पनि विश्वकप खेल्ने अवसर बाँकी नै छ। इटालीका लागि ४९ अन्तर्राष्ट्रिय खेल खेलिसकेका डोनारुमाको उमेर २३ वर्ष मात्र छ। आशा गरौँ डोनारुमालाई चार वर्षपछि हुने विश्वकपमा अवश्य देख्न पाइनेछ।

लुइस डियाज (कोलम्बिया)

कोलम्बिया र लिभरपुलका स्ट्राइकर लुइस डियाजलाई विश्व फुटबलमा उदयीमान तारा पनि भनिन्छ। कोलम्बियाका लागि ३७ खेलमा आठ गोल गरिसकेका डियाज गत जनवरीमा पोर्टोबाट लिभरपुल आएपछि उनको चर्चा अझ भयो। 

अहिले छोटो समयमै डियाज लिभरपुलका समर्थकको मनपर्ने खेलाडी बनिसकेका छन्। तर उनको खेल कौशल कतारमा हेर्न पाइने छैन। कोलम्बिया विश्वकपमा लगातार खेलिरहेको टिम हो तर यस पटक डियाज जस्तो खेलाडी हुँदाहुँदै पनि कोलम्बियाले विश्वकपमा स्थान बनाउन सकेन। 

दक्षिण अमेरिकी छनोटमा छैटौँ स्थान हासिल गरेपछि कोलम्बिया विश्वकपमा छनोट हुन सकेन। दक्षिण अमेरिकी समूहबाट शीर्ष चार स्थानमा रहने टिम स्वतः विश्वकपमा चयन हुने र पाँचौँ स्थानमा रहने टिमले कतार पुग्न इन्टरनेसनल प्लेअफ खेल्नुपर्ने नियम छ। अहिले २५ वर्ष मात्र पुगेका डियाजले आफ्नै बलबुताले कोलम्बियालाई चार वर्षपछि क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा हुने विश्वकपमा पु¥याउने अपेक्षा गरिएको छ।

अन्य खेलाडी

कोलम्बियाकै राडेमेल फाल्काओ, ह्यामेस रोड्रिगेज, हुँवा कोड्राडो पनि कतार विश्वकपमा देखिने छैनन्। यसबाहेक घाइते रहेका अर्जेन्टिनाका पाउलो डिबाला, छनोट हुन असफल नाइजेरियाका स्ट्राइकर भिक्टर ओसिमेह, विश्वका एक उत्कृष्ट मिडफिल्डर फ्रान्सका एनगोलो कान्टे, रियल म्याड्रिडबाट खेल्ने अस्ट्रियाका डेभिड अलाबा, पोर्चुगलका डिएगो जोटा र स्विडेनका भेटरान विश्व चर्चित स्ट्राइकर ज्लाटन इब्रोहिमोभिचको अनुपस्थिति पनि कतार विश्वकपमा खुल्ने छ।


– प्रजित शाक्य