• ११ जेठ २०८१, शुक्रबार

अर्जेन्टिनाका लागि साउदी अरब सहज विपक्षी !

blog

दोहा, मङ्सिर ६ गते । यसपालि ब्राजिलसँगै अर्जेन्टिनालाई पनि प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ। फुटबलर डिएगो म्याराडोनापछि अर्जेन्टिनाले विश्वकप उपाधि जितेको छैन। म्याराडोनाको निधनपछि अर्जेन्टिनाको यो पहिले विश्वकप पनि हो। अर्जेन्टिनाले यसपालि विश्वकप जितेमा म्याराडोनाप्रति हकलाग्दो श्रद्धाञ्जलि हुनेछ। लियोनेल स्कालोनीको प्रशिक्षकत्व र लियोनेल मेसीको कप्तानमा अर्जेन्टिनाको लय पनि गजबको छ। अर्जेन्टिना पछिल्ला ३५ खेलमा अपराजित छ। यसबीच अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि पनि जितेको थियो। त्यसैले पनि विश्वकप उपाधि दाबेदारको सूचीमा अर्जेन्टिनाको नाम सबैभन्दा माथि छ।

अर्जेन्टिनालाई कतार विश्वकपमा पहिलो खेल तुलनात्मक रूपमा सजिलो परेको छ। अर्जेन्टिनाको विपक्षी साउदी अरब फिफा वरीयतामा ५१औँ स्थानमा छ। मेसीको यो अन्तिम विश्वकपको रूपमा हेरिँदैछ। त्यसैले पनि अर्जेन्टिना जसरी भए पनि उपाधि जित्न चाहन्छ। आठ वर्षअघि फाइनलमा जर्मनीसँग हार्दा मेसीको टिम अर्जेन्टिना विश्व च्याम्पियन हुनुबाट विमुख हुनुपरेको थियो।

प्रशिक्षक लियोनेल स्कालोनीले साउदी अरबलाई हलुका रूपमा लिनुभएको छैन। उहाँ भन्नुहुन्छ, “हामी साउदी अरबको खेल बारे अवगत छौँ। साउदी अरब एकदम राम्रो टिम हो। सो टिममा तेज गतिमा खेल्ने खेलाडीहरू छन् भने प्राविधिक रूपमा पनि बलियो छ। साउदी अरबले हामीलाई गाह्रो पार्न सक्छ। यसै पनि पहिलो खेल सधैँ कठिन हुन्छ। अझ विश्वकपमा सबै खेल त्यत्तिकै गाह्रो हुन्छ।” साउदी अरब विश्वकपमा प्रायः देखिने टिम हो। साउदी अरब छैटौँ पटक विश्वकपमा सहभागी हुँदैछ। विश्वकप छनोटमा १३ जित र मात्र एक हारमा साउदी अरब कतार पुगेको हो। 

फ्रान्सेली प्रशिक्षक हर्भ रेनार्डको रणनीति साउदी अरबका लागि महìवपूर्ण हुनेछ। रेनार्ड सन् २०१२ मा जाम्बिया र सन् २०१५ मा आइभरिकोस्टलाई अफ्रिकी च्याम्पियन बनाउने प्रशिक्षक हुनुहुन्छ। रेनार्डको विश्वकपमा भने यो दोस्रो जिम्मेवारी हो। सन् २०१८ मा रेनार्डको प्रशिक्षकत्वमा मोरक्कोले विश्वकप खेलेको थियो। उहाँले विश्वको उत्कृष्ट टिम जित्ने लक्ष्यमा खेल्ने भए पनि विश्वकपमा उलटपुलटको सम्भावना सधैँ रहन्छ भन्नुभयो। विश्वकप जस्तो प्रतियोगितामा सानो टिमको लक्ष्य नै ठूला टिमविरुद्ध स्तब्धकारी नतिजा निकाल्ने हुन्छ, उहाँको भनाइ छ।

प्रशिक्षक रेनार्डलाई १७ अन्तर्राष्ट्रिय गोल गरिसकेका विन्गर फहद अल मुवालाडको सेवा प्राप्त हुनेछैन। यही वर्ष उहाँ डोपिङमा पर्नुभएको हो तर सालेह अल सहरी अली हिलालजस्ता खेलाडीले अर्जेन्टिनाविरुद्ध आफ्नो छाप छोड्ने प्रयास गर्नुहुनेछ।

पोल्यान्ड र मेक्सिकोबीच टक्कर

क्रिस्टियानो रोनाल्डो र मेसीको छायाँमा परेका स्ट्राइकर हुन् पोल्यान्डका रोवर्ट लेवान्डोस्की। युरोपेली फुटबलमा लगातार दबदबा बनाइरहेका लेवान्डोस्की पोल्यान्डका लागि त निर्विवाद वन म्यान आर्मी हुन्। राष्ट्रिय टिमका कप्तान उहाँले १३४ खेलमा सर्वाधिक ७६ गोल गरेका छन्। कतार विश्वकपको छनोटमा मात्र उहाँले नौ गोल गर्नुभएको थियो। त्यसैले पनि लेवान्डोस्कीले कतार विश्वकपमा चमत्कार गर्ने आशा गर्न सकिन्छ। यद्यपि लेवान्डोस्कीले अहिलेसम्म विश्वकपमा गोल गर्न सकेका छैनन्। सन् २०१८ मा उनले विश्वकप खेल्दा पोल्यान्ड समूह चरणबाटै बिदा भएको थियो भने लेवान्डोस्की पनि गोलविहीन बनेका थिए। 

मेक्सिकोविरुद्ध मङ्गलबार विश्वकपमा पहिलो खेल खेल्दा लेवान्डोस्कीको पहिलो लक्ष्य आफूले गोल गरेर टिमलाई जिताउने हुनेछ तर मेक्सिको विश्वकप फुटबलमा सधैँ राम्रो गर्ने टिम हो। उत्तर अमेरिकी टिमले पछिल्ला आठ विश्वकपमा समूह चरण पार गरेको छ। यसैगरी मेक्सिकोले पछिल्ला छ विश्वकपमा पाँच पटक आफ्नो पहिलो खेल जितेको छ। त्यसैले पनि पोल्यान्डलाई मेक्सिकोविरुद्धको खेल सहज हुने छैन। यद्यपि मेक्सिको अहिले राम्रो लयमा छैन। पछिल्ला पाँचमध्ये मेक्सिकोले तीन खेल हारेको छ। पोल्यान्डले भने पछिल्ला दुवै खेल गोल नबेहोरिकन जितेको छ तर पनि टिमका खेलाडी र इतिहासलाई नजर गर्ने हो भने पोल्यान्ड र मेक्सिकोबीचको खेललाई बराबरीको टक्कर मान्न सकिन्छ। एजेन्सी