• १६ असार २०८१, आइतबार

चुनावले छोएन कामदार वर्गलाई

blog

काठमाडौँ, मङ्सिर ६ गते । बर्दिया ठाकुरद्वारा–९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहनुभएको छ । उहाँलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै हुनुहुन्छ । देशभर प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाउनुभएन । बरु परिवारको खर्च टार्न चुनावको दिन पनि दिनभर मजदुरीमै गर्नुभयो । उहाँहरू मुलुक चलाउने सिंहदरबार नजिकै । “भोट हाल्ने दिन भरपेट खाएर आनन्दको निद्रा सुतियो” कार्की दम्पतीले एकै स्वरमा सुनाउनुभयो ।  

निर्वाचनकै दिन पनि सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रममा व्यस्त हुनुभएको थियो । उहाँले भन्नुभयो, “मतदाता नामावली गाउँतिरै छ, यता सहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाउँ भनेर कसैले भनेन । कसैले खबर गरेको भए जाने थियौँ ।” बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आउनुभएको छ । भोट हाल्न गाउँ नगई राजधानीमा सङ्घर्षरत कार्की दम्पती दैनिक एक हजार आठ सयदेखि दुई हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ । “छोराछोरी हुर्काइयो, पढाइयो तर अहिले ठूला भएपछि छुट्टिएर बसेका छन्,” उहाँले भन्नुभयो, “हामी बूढाबूढीलाई पेट पाल्न मजदुरी गर्नु परेको छ ।”

कार्कीलाई यस पटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन तर मेसो नमिलेको उहाँको भनाइ छ । कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्युँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मतदानका दिन उहाँ भने काठमाडौँको रामशाहपथमा पिठ्युँमा गह्रौँ झोला बोकेर हिँडिरहनुभएको थियो । उहाँलाई पनि गाउँ गएर भोट हाल्ने रहर थियो तर आफ्नै समस्याका कारण गाउँ जान सक्नुभएन । 

“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिनँ । घर जान धेरै पैसा लाग्छ,” उहाँले भन्नुभयो, “कसैले जाऊँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ?” धामी पुतलीसडकमा आफन्तकहाँ बस्दै आउनुभएको छ । चुनावका दिन गाडी नचल्ने भएपछि उहाँले ललितपुरको टीकाथलीसम्म पुग्न पैदल हिँडेको सुनाउनुभयो । “गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्यो होला,” उहाँले भन्नुभयो, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”

धामीजस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर पैदलै हिँड्नुभयो । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आउनुभएको थियो । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कंदै गर्नुभएका उहाँहरू बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउनुभयो । निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन बिहान ४ देखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको थियो । आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पतीजस्ता मतदान गर्न नपाएकालाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट वञ्चित भएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामती कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, दर्ता भएर सञ्चालन भएका वृद्धाश्रमलाई समेटेको भए पनि पेसा व्यवसाय गरेका सर्वसाधारणलाई समेट्न सकेको छैन । अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रूपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ तर नेपालमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।