• १२ साउन २०८१, शनिबार

सुनसरीमा ६१ प्रतिशत मतदान

blog

जयकृष्ण यादव  

इनरुवा, मंसिर ४ गते । सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको १ सय ६६ स्थानबाट ५ सय ९३ मतदान केन्द्रमा ६१ प्रतिशत मतदाताले मतदान गरेको प्रारम्भिक अनुमान गरिएको छ । 

जिल्लाको ४ वटा निर्वाचन क्षेत्रमा औसत मतदान ६१ प्रतिशत भएको अनुमान गरिएको छ । जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा ५६ प्रतिशत, क्षेत्र नं. २ मा ५० प्रतिशत, क्षेत्र नं. ३ मा ६५ प्रतिशत र क्षेत्र नं. ४ मा ५४ प्रतिशत मतदान भएको अनुमान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार पूर्ण विवरण आउन राति अबेर हुन सक्ने भए पनि प्रारम्भिक अनुमान अनुसार ६१ प्रतिशत बढी मतदान भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लाको सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । 

उता स्थानीय तहभन्दा कम मतदान भएको स्थानीयहरूले बताएका छन् । स्थानीय तहको निर्वाचनमा स्थानीय वडाकै उमेदवारहरु भएकाले मतदान प्रतिशत बढी भएकोमा यस निर्वाचनमा उम्मेदवार कम भएकाले उत्साह पनि कम देखिएको छ । 

यसैबीच नेपाली कांग्रेसका उम्मेदवार एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दुहबीको शिशु निकेतन आधारभूत मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले गढी गाउँपालिकाको सरस्वती मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

कैदीबन्दीद्वारा मतदान  

सुनसरीको झुम्का कारागार अस्थायी मतदान केन्द्रमा ४० जना कैदी बन्दीहरूले मतदान गरेका छन् । समानुपातिक तर्फ मतदानको अधिकार पाएका ४० जना कैदी बन्दीहरूले मतदान गरेका हुन् । 

यहाँका ४१ जनाको नामावलीमा नाम भए पनि एक जना निर्वाचन अघि नै छुटेकाले ४० जना कैदीबन्दीहरुले मात्र मतदान गरेको मतदान अधिकृत एवम् जेलर महेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।