• १२ साउन २०८१, शनिबार

झापामा बम पड्किएपछि सुरक्षा व्यवस्थामा कडाइ

blog

दमक नगरपालिका मतदान केन्द्र अगाडि सुरक्षा दिंदै नेपाली सेना । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ४ गते । झापाका दुई वटा मतदास्थलमा सुतली बम पड्काएर निर्वाचन प्रभावित पार्न खोजेपछि जिल्लास्थित सबै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । झापा दमकस्थित हिमावि मतदान केन्द्रमा बिहान साढे १० बजे र झापा गाउँपालिकाको वडा नं. २ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा बिहान साढे ९ बजे बम विस्फोट भएको थियो । 

दुबै ठाउँमा मतदानका लागि मतदाता लाइन लागेको नजिक विस्फोट भए पनि कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विस्फोटक पदार्थ पड्किए पनि मतदान कार्य प्रभावित नभएको प्रहरीको भनाइ छ । दुबै ठाउँमा मतदान कार्य जारी छ । मतदान स्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको र निर्धक्कसाथ मतदान गर्न झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले मतदातालाई आग्रह गर्नुभयो । 

मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीय  प्रल्हादकुमार राजवंशीले बताउनुभयो। विस्फोटपछि घटनास्थलमा नेपाली सेनाको टोली पुगेको आधा घण्टापछि मतदान सुरू भएको थियो।