• १२ साउन २०८१, शनिबार

चुनावको तयारी अन्तिम चरणमा

blog

खोटाङ समाचारदाता

खोटाङ, मङ्सिर ३ गते । खोटाङमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभएको छ।    

मतदान स्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्री लिएर बिहीबार पुगेका कर्मचारी र सुरक्षाकर्मीको टोलीले मदिरा, हातहतियार, चुनावी प्रचारप्रसार र शान्ति भङ्ग गर्न निषेध सम्बन्धी सूचना टाँसेका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदान स्थलको ‘ख’ मतदान केन्द्रका सहायक मतदान अधिकृत इरन राईका अनुसार शुक्रबार सर्वदलीय बैठक बसेर आचारसंहिता निर्माण गर्ने कार्य भएको छ। यस्तै मतदान स्थलमा प्रवेशद्वार निर्माण र कर्मचारी परिचयपत्र बनाउने काम भएको उहाँले बताउनुभयो।

खोटाङमा निर्वाचनका लागि १५ सय ५८ कर्मचारी र करिब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन्। उनीहरूले मतदान स्थलको तयारी अन्तिम चरणमा पु¥याएका छन् भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत पेटिका राख्ने र तारजालीले घेरेर मत गणना स्थल बनाउने काम धमाधम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यादवले बताउनुभयो। ४ गते अपराह्न ५ बजे मतदान गर्ने समय सकिएपछि मुचुल्का उठाएर मतपेटिका दिक्तेल ल्याइने यादवको भनाइ छ। 

५ गते राजनीतिक दलहरूको सहमतिमा मतगणना गर्न सुरु गरिनेछ। ३ स्थानमा मत गणना हुनेछ भने सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना हुनेछ। त्यसपछि प्रदेश सभाको सकेर समानुपातिकको मतगणना हुने यादवले बताउनुभयो। 

खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन्। यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ। 

इनरुवा समाचारदाताका अनुसार सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाभरिको मतदान केन्द्रमा पुगेका मतदान अधिकृतले धमाधम केन्द्र निर्माणको काम सुरु गरेका छन्। मतदान सामग्रीसहित मतदान केन्द्रमा पुगेकाहरूले शुक्रबार बिहानैबाट मतदातालाई लाममा लगाउनेदेखि मतपेटिका राख्ने ठाउँसम्म घेरा दिनेगरी केन्द्र निर्माणमा जुटेका छन्।

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि खटिएका मतदान अधिकृतले मतदाताको सङ्ख्या र भीडलाई ध्यानमा राखेर मतदान केन्द्रमा बाँससहितको घेराबेरामा जुटेको सरस्वती मावि बबिया केन्द्रका मतदान अधिकृत अशोक मेहताले जानकारी दिनुभयो। 

जिल्लाको १६६ मतदान स्थलमा दुई अस्थायी मतदान केन्द्रसहित ५९३ मतदान केन्द्रमा मतपत्र, मतदाता नामावलीसहितका ५७ प्रकार निर्वाचन सामग्री लिएर पुग्नुभएका मतदान अधिकृतहरूले मतदान केन्द्र निर्माण थाल्नुभएको छ। 

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीका अनुसार मतदान केन्द्रमा खटिएका कर्मचारीले शनिबार मतदान केन्द्रको निर्माण सकेर आइतबार बिहानै सात बजेबाट मतदान गराउनुहुनेछ। 

सुनसरीमा मतदान सम्पन्न भएपछि निर्वाचन क्षेत्र नं. १ को धरानमा, निर्वाचन क्षेत्र नं. २ को शिक्षा तालिम केन्द्र र क्षेत्र नं. ४ को इनरुवाको भगवती माविमा र निर्वाचन क्षेत्र नं. ३ को दुहवी रङ्गशालामा मतपेटिका जम्मा गरी मतगणना गरिने अधिकारीको भनाइ छ।