• १६ असार २०८१, आइतबार

निर्वाचनले बस खचाखच

शुक्रबार मात्र करिब डेढ लाख बाहिरिए

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, मङ्सिर ३ गते । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने बढेका छन्। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो। 

अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबार मात्रै करिब डेढ लाख यात्रु बाहिरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाको दाबी छ। उहाँका अनुसार निर्वाचनका अवसरमा करिब ४० प्रतिशत यात्रु बढेका छन्।     

निर्वाचन आयोगका अनुसार मङ्सिर ३ गते दिउँसोसम्म सार्वजनिक यातायात सञ्चालन हुने छन् । ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन। 

काठमाडौँबाट बाहिरी जिल्ला जानेका कारण नियमित रूपमा चल्नेमध्ये करिब ६० प्रतिशत बस रिजर्भ भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार ती बस सम्बन्धित पार्टीका भ्रातृ सङ्गठन, सम्पर्क समन्वय समितिहरू र उम्मेदवारबाट समेत बस रिजर्र्भ भएका हुन्। यो समयमा आफैँ टिकट काटेर जाने यात्रुको सङ्ख्यामा पनि वृद्वि भएको छ। 

अन्तरप्रदेशमा सञ्चालित बसमा पनि यात्रुको चाप बढेको छ। सार्वजनिक मात्र नभई निजी सवारीसाधनमा पनि यात्रु ठूलो सङ्ख्यामा बाहिरिएका छन्। तर सम्बन्धित रुटमा चल्ने बसहरू नै रिजर्भ भएका कारण यात्रुलाई कुनै सास्ती नभएको महासङ्घको दाबी छ। काठमाडौँबाट दैनिक दुईवटा मात्रै बस चल्ने जिल्लामा समेत अहिले २७ वटासम्म बस रिजर्भ भएका छन्। पश्चिम नेपाल बस व्यवसायी सङ्घका अनुसार गुल्मीको तम्घासका लागि मात्रै २७ वटा बस रिजर्भ भएका छन्। अर्घाखाँचीका लागि २६ र पाल्पाका लागि १७ वटा बस रिजर्भ भएका छन्। कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा भने क्रमशः पाँच सातवटा बस मात्र रिजर्भ भएको सङ्घले जानकारी दिएको छ। 

सङ्घको टिकट काउन्टरका व्यवस्थापक डिल्ली भुसालका अनुसार तराईका जिल्लामा भन्दा पहाडी जिल्लामा धेरै बसहरू रिजर्भ हुने गरेका छन्। भुसालले भन्नुभयो, “पश्चिम नेपालका पहाडी जिल्लामा बढी मात्रामा रिजर्भ भएका छन्, अन्य पहाडी जिल्लामा पनि २० देखि १५ वटा बस रिजर्भ भएका छन्, समग्रमा झन्डै ५०÷६० प्रतिशत बस रिजर्भ छन्।”

तर अधिकांश बस रिभर्जमा गए पनि नियमित रुटतर्फ सहज व्यवस्थापन भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “टिकट तथा सिट नपाउने समस्या छैन, आवश्यकता परेको अवस्थामा गाडी थप गर्न सक्ने अवस्थामा हामी छौँ।”