चितवन समाचारदाता
चितवन,जेठ १ गते । चितवनको भरतपुरमा निर्माणाधीन सिटी हलको छतको डिजाइन परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कार्य रोकिएको छ । २७ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विभिन्न कारणले निर्माण कार्यमा ढिलाइ हुँदै आएको थियो । निर्माण क्रममा रहेको हलको छाना छाउने क्रममा फलामको पाइप ढलेर समस्या आएपछि छानोको डिजाइन परिवर्तन गर्दा निर्माण कार्य रोकिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर झपटबहादुर थापाले छाउने क्रममा ठाडो पारेको पाइप हावाले लडाएपछि समस्या आएको जानकारी दिनुभयो । ट्रस्ट लगाउने क्रममा हावाले झारेपछि पुनः अध्ययन थालिएको थियो । आठ महिनाअघि पाँच वटा ट्रस्ट राखेपछि एउटा ट्रस्ट हावाले झारेको थियो । के कति कारणले समस्या परेको भन्ने यस विषयमा विस्तृत अध्ययन भएको थियो । पुरानो डिजाइनबाट नगरी अब नयाँ डिजाइनबाट छाना छाउने गरी तयारी भएको छ ।
अध्ययनपछि नयाँ डिजाइन तयार भएकाले अब छिटो निर्माण कार्यलाई निरन्तरता दिने तयारी भएको प्रमुख थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब तत्कालै ट्रस्ट निर्माण सुरु गराएसँगै अन्य संरचना निर्माणले गति पाउने छ ।” एक अर्ब २० करोड रुपियाँको लागत अनुमानमा निर्माण सुरु गरिएको हलका लागि इन्डो सगुन रौताहा जेभीले ७७ करोड ७७ लाख रुपियाँमा ठेक्का सकारेको थियो ।
बाइपास सडकसँगै जिल्ला समन्वय समितिका नाममा रहेको चार बिघा चार कट्ठा जमिन भरतपुर महानगरपालिकाका नाममा लगेर सिटी हल निर्माण थालिएको हो । निर्माणका क्रममा रहेको हलमा अहिले भित्री भागको बिजुली, पानी जडान गर्ने, प्लास्टर, प्लम्बिङलगायत काम भइरहेको प्रमुख थापाले जानकारी दिनुभयो । सभा गृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभा हल बन्ने छ । यसका साथै तीन सय मानिस अट्न सक्ने क्षमताको सभा हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने छ । दुई वटा भ¥याङ र दुई वटा लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज, प्रशिक्षण कक्ष पनि रहने छन् । मुख्य ब्लक छ हजार पाँच सय वर्गमिटरमा हुने छ ।
सिटी हलको अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न भएको कार्यालयले जानकारी दिएको छ । भरतपुर महानगरपालिका–१०, जिल्ला समन्वय समितिनजिकै विसं २०७७ मङ्सिर १८ गते सभा गृह निर्माण थालिएको थियो । विसं २०७९ फागुन १८ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।
सिटी हललाई भरतपुर महानगरपालिकाले गौरवको आयोजनाका रूपमा लिएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो । एउटा सुविधासम्पन्न हल आवश्यकता महसुस गरेर निर्माणका लागि पहल गरेको बताउनुभयो । छानोको डिजाइनका कारणले गर्दा निर्माण रोकिएको थियो । अब म्याद थप गरेर निर्माण अवधि लम्ब्याउने तयारी भइराखेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।