• ११ मंसिर २०८१, मङ्गलबार

नौ घण्टाको पैदल यात्रापछि गुर्जा र बगर पुगे कर्मचारी र सुरक्षाकर्मी

blog

मतदानमा खटिएका सुरक्षाकर्मी र कर्मचारी गुर्जा जाँदै । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, मङ्सिर २ गते ।
हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीदेखि टाढा रहेका मतदान केन्द्रमा निर्वाचनका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी पुगेका छन् । सदरमुकामभन्दा टाढा रहेको धौलागिरी गाउँपालिका–१, को गुर्जा र ४ नम्बर वडा मुदी बगरमा मतदानका लागि सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका हुन् ।

कात्तिक २९ गते सामग्री बुझेर बेनी–दरवाङ सडक खण्डको दरवाङ र त्यसपछि दरवाङ मुना सडक खण्डको मुना पुगेर बास बसेका कर्मचारी लुलाङको लमसुङबाट ९ घण्टा लामो पैदल यात्रा छिचोलेर गुर्जा पुगेका हुन् ।


जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत अमृत सुवेदीलाई मतदान अधिकृत तोकेर मुख्य निर्वाचन अधिकृतको कार्यालयले गुर्जाको कमाण्ड सुम्पेको थियो । जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र रहेको गुर्जा जिल्लाकै दुर्गम अनि दलित र जनजातिको बस्ती रहेको गुर्जामा पुग्नु युद्ध जितेभन्दा कम पक्कै पनि हुँदैन । बिक र छन्त्यालको बसोबास रहेको गुर्जा पुग्न तयारी गरेर बेनीबाट गाडीमा धौलागिरी गाउँपालिका लुलाङको लमसुङमा पुगेका सुवेदीको टोलीले मङ्सिर १ गते बिहान गुर्जाका लागि यात्रा थालेको थियो ।

बिहान सवा ६ बजे हिँडेका टोलीले मतपेटिका र निर्वाचनका लागि अत्यावश्यक सामग्रीबाहेक सामान्य खाजाको सामान बोकेको बताउनुहुन्छ, सहायक मतदान अधिकृत कुशल ढुङ्गाना ।


अनकण्टार जङ्गलको बाटो हुँदै असई क्षितिज के.सीको कमाण्डको सुरक्षाकर्मी र अमृत सुवेदी कमाण्डको निर्वाचन टोलीहरु बेलुका पौने ४ बजे मात्रै गुर्जा पुगेका थिए । झण्डै ९ घण्टा जङ्गलभित्रको यात्रा गर्ने क्रममा तीन हजार २८५ मिटरको उचाइमा पर्ने देउराली डाँडा पुगेर पुनः ओरालाे अनि उकालो यात्रा तय गरेर दुई हजार आठ सय मिटर उचाइको गुर्जामा टोली पुगेको थियो ।

धौलागिरी गाउँपालिकाकै दुर्गम क्षेत्रमध्येको अर्को स्थान हो धौलागिरी गाउँपालिका–४ मुदीको बगर । राउण्ड धौलागिरी पदमार्गमा पर्ने बगर क्षेत्रमा पुग्न पनि मतदान कर्मचारी ७ घण्टा लामो पैदल यात्रा गरेर पुगेका छन् ।


मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतको नियुक्ति लिएर धवलागिरी गाउँपालिकाका स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले २९ कात्तिकमा सामग्री बुझ्नुभएको थियो । कात्तिक ३० गते बेनीदेखि मुदीसम्म रिजर्ब गाडी लिएर लागेको टोली मुदीदेखि ३ घण्टा पैदल यात्रा गरेर मुदीको नाउरा पुगेर बास बसेको थियो ।

नाउराबाट मुदीको बगरसम्म पुग्नका लागि मङ्सिर १ गते बिहानै हिँडेको टोली चार घण्टाको पैदल यात्रापछि पुगेको थियो । समुद्री सतहदेखि झण्डै २५ सय मिटरको उचाइमा रहेको कैलाश आधारभूत विद्यालय मतदान केन्द्रमा १५७ जना मतदाता छन् । यस पटक थप गरिएको उक्त मतदान केन्द्रका मतदाताले यस अगाडि भने मतदानको अघिल्लो दिन नै मुदीमा बास बसेर भाेलिपल्ट मतदान गरेर फर्कने गर्दथे ।


बगर मतदान केन्द्रदेखि एक घण्टाको पैदल यात्रा गरेर डाँडामा पुगेपछि मात्रै मोबाइल डाटाको प्रयोग गरेर अपडेट गराउन मिल्ने अवस्था रहेको मतदान अधिकृत छन्त्यालको भनाइ छ ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालका अनुसार जिल्लाका ८२ स्थानका ११९ मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्रमा समेत निर्वाचन सामग्रीसहित सबै कर्मचारी पुगिसकेका छन् ।


जिल्लाभित्र रहेका १२० मतदान केन्द्रमध्ये मुदीको बगर, गुर्जा र कुइने मंगलेको मतदान केन्द्रमा यातायातको साधन पुग्दैन । उक्त तीन वटा मतदान केन्द्रबाट क्षेत्रको मतपेटिका ल्याउनका लागि यातायातको पहुँच नपुग्ने हुँदा निर्वाचन आयोगमा हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने देखिएको भन्दै जानकारी गराइएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो ।