• १३ वैशाख २०८१, बिहिबार

निर्वाचनको तयारी पूरा

blog

लामो समयपछि मङ्सिर ४ गतेको प्रतीक्षा अब लामो समय रहेन। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मङ्सिर ४ गते हुने निर्वाचनका निम्ति ४८ घण्टाभन्दा कम समय रहेको छ। निर्वाचनका निम्ति अब मतदातालाई शान्त रही सही निर्णयमा पुग्ने अनुकूल समय यही अवधि हो। राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गएराति १२ बजेपछि बन्द गरिसकेका छन्। त्यसै गरी मतदाता मतदानका निम्ति व्यग्र प्रतीक्षामा रहेका छन्। पाँच वर्षको अवधिमा एक पटक प्राप्त हुने यो अवसरको सदुपयोग आममतदाताबाट विवेकसम्मत ढङ्गले हुने अपेक्षा गर्न सकिन्छ। तमाम राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना प्रचार यसअघि नै सम्पन्न गरिसकेकाले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मङ्सिर ४ गते पाँच वर्षको जनादेशका निम्ति फैसला गर्ने नै छन्।

मङ्सिर ४ गतेका निम्ति निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा गरिसकेको छ। देशव्यापी रूपमा एकै चरणमा सम्पन्न हुने लोकतन्त्र यो निर्वाचनका निम्ति आयोगले अनेक चरणका तयारी गरेको थियो। लोकतन्त्रलाई संस्थागत गर्ने यो महायज्ञरूपी यो निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित, निष्पक्ष तथा पारदर्शी ढङ्गले सम्पन्न गर्न राज्य संयन्त्रले हरेक तरहले आफ्नो पूरै ध्यान केन्द्रित गरेको छ। निजामती, शिक्षक, जङ्गी, प्रहरी, सशस्त्र तथा राष्ट्रिय अनुसन्धान हरेक तह र तप्काका राष्ट्रसेवक यो निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमा क्रियाशील छन्। 

निर्वाचनलाई शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न हुने वातावरण तयार गरिनु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। अशान्त निर्वाचनले भय र त्रास बढाउँछ। मतदाताको विकेक पूर्ण स्वतन्त्र रूपमा प्रतिविम्बित गर्ने अवसर हो निर्वाचन। यसै पक्षलाई मनन गर्दै सरकारले आवश्यक सुरक्षा प्रबन्ध पनि गरिसकेको छ। सरकारले निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रत्याभूत गर्न राज्यका चारवटै सुरक्षा निकाय परिचालित छन्। सुरक्षाका दृष्टिकोणबाट सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सोहीअनुरूपको सुरक्षा व्यवस्था अपनाइएको छ। प्रभावकारी सुरक्षा व्यवस्थाकै कारण आममतदाताले बिना कुनै डर त्रास आफ्नो विवेकले मताधिकार गर्न सक्ने वातावरण सिर्जना हुनेमा कुनै शङ्का छैन। देशभर झन्डै ११ हजार मतदान स्थल तोकिएकोमा चारैवटा सुरक्षा निकायबाट यी मतदान स्थलमा महत्त्वपूर्ण सूचना सङ्कलन, विश्लेषण, घुम्ती तथा निगरानी टोली परिचालन हुने व्यवस्था मिलाइएबाट सुरक्षा प्रबन्ध थप दह्रो हुने विश्वास लिन सकिन्छ। 

सुरक्षा प्रबन्धका अतिरिक्त निर्वाचनका लागि खटिएका कर्मचारीहरू आआफ्नो मतदान केन्द्रमा पुग्न थालिसकेका छन्। यसबाट मतदान केन्द्रमा जनशक्ति अभाव हुने छैन। यसका साथै मतदानका लागि आवश्यक सबै भौतिक पूर्वाधार तथा सामग्रीहरूको समेत प्रबन्ध भइसकेको छ। मतदान केन्द्रअन्तर्गतको बुथ निर्माण, मतपेटिका, मतपत्र र निर्वाचनसम्बन्धी अन्य आवश्यकीय सामग्री पुग्ने क्रम जारी छ। यसबाट निर्वाचनको तयारीलाई सम्बन्धित पक्षले प्रमुख प्राथमिकतामा राखेको स्पष्ट हुन्छ। यसका अतिरिक्त सुरक्षा दृष्टिकोणले संवेदनशील र दुर्गम पहाडी तथा हिमाली भेकमा निर्वाचन सामाग्रीलाई हेलिकोप्टरका माध्यमबाट समेत ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। यसरी आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न हरेक तरहका तयारी पूर्ण रूपले गरिएको अवस्था छ। 

निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी तथा विदेशी पर्यवेक्षकको टोली पनि तयारी अवस्थामा रहेबाट निर्वाचनको निष्पक्षतामा शङ्का गर्ने स्थिति नरहने स्पष्ट छ। झन्डै एक करोड ८० लाख नेपाली मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका लागि आफ्नो प्रतिनिधि चुन्ने यस महान् अवसरलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उल्लेख गर्नुभए जस्तै सबै मतदाताले उत्सवका रूपमा लिनु आवश्यक छ। आममतदाताको एक मतले मुलुकको भाग्य र भविष्यको मार्ग प्रशस्त हुने अवसर हो यो। मतदाताहरूले आफ्नो बुद्धि, विवेक प्रयोग गरेर आगामी पाँच वर्षका लागि प्रतिनिधि चुन्ने यो अनुपम अवसर हो। यसमा कोही पनि चुक्न हुँदैन। आममतदाताको अत्यधिक सहभागिताले निर्वाचनको गरिमा र विश्वसनीयतामा सकारात्मक प्रभाव पार्नेछ। संविधान सभाले २०७२ मा निर्माण गरेको संविधानपछि यो दोस्रो आमनिर्वाचन भएकोले विगतका कमीकमजोरी सुधार गर्दै अगाडि बढ्नु वाञ्छनीय छ।