• १२ साउन २०८१, शनिबार

निर्वाचन नजिकिएसँगै सवारी जाँचमा कडाइ

blog

झापामा सवारीको गति चेक गर्दै । फाइल फोटाे

विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर १ गते ।
झापाको दमकसहित आसपासको क्षेत्रमा सवारी जाँचलाई प्रहरीले कडाइ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र इलाका ट्राफिक प्रहरी कार्यालय दमकले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधन जाँचलाई तीव्रता दिएको हो ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दिलीप गिरीका अनुसार साँझदेखि बेलुकी १० बजेसम्म दमकसहित विभिन्न गौंडामा सवारी जाँचलाई तीव्रता दिइएको हो । प्रहरी निरीक्षकको कमाण्डमा विभिन्न ठाउँमा जाँच भइरहेको उहाँको भनाइ छ ।

अपरिचित व्यक्ति तथा शङ्कास्पद गतिविधिमा संलग्नहरुको पहिचान, चोरीका गाडी प्रयोग गरेर हुनसक्ने अपराध नियन्त्रण गर्नका लागि जाँचलाई कडाइ गरिएको जनाइएको छ । दमकमा मात्र एकसाता अघिदेखि निरन्तर रुपमा दमकका ३ देखि ४ ठाउँमा नियमित जाँच हुँदै आएको गिरीले जानकारी दिनुभएको छ ।

सवारी चालक अनुमतिपत्र र सवारीको ब्लुबुक अनिवार्य बोकेको हुनुपर्ने, हेल्मेट लगाएको हुनुपर्ने जनाउँदै ट्राफिक नियम पालना नगर्नेलाई समेत जरिवाना र कारबाही गरिँदै आएको गिरीको भनाइ छ । मादक पदार्थ सेवन गरेर सवारी कुदाउनेलाई नियन्त्रणमा लिने काम पनि भइरहेको उहाँले बताउनुभयो ।