• १५ असार २०८१, शनिबार

सुदूरपश्चिम

सुदूरपश्चिममा उम्मेदवारबीच उच्च प्रतिस्पर्धा हुँदै

blog

धनगढी, मङ्सिर १ गते । सुदूरपश्चिमबाट प्रतिनिधि सभाका (१६)  र प्रदेश सभाका (३२) गरेर ४८ प्रत्यक्ष क्षेत्रमा मुख्य दलहरूले निक्कै कम नयाँ अनुहारलाई मात्र टिकट दिएको छन्  । त्यस क्रममा एमालेले बझाङबाट प्रतिनिधि सभा सदस्यमा ऐनबहादुर महरलाई उठाएको छ । उहाँ अनेरास्वयियूको केन्द्रीय अध्यक्ष भइसक्नु भएको छ । 

यस्तै गरेर काँग्रेसले प्रदेश सभामा कैलाली क्षेत्र नं. ५ ‘ख’ महाधिवेशन प्रतिनिधि प्रकाशबहादुर देउवा, अछाम क्षेत्र नं. २ ‘ख’ पूर्व प्रहरी अधिकृत मानबहादुर रावललाई उम्मेदवार बनाएको छ । यस्तै एमालेले कैलाली क्षेत्र नं. १ ‘ख’ द्वारिका न्यौपाने, कैलाली क्षेत्र नं. २ ‘ख’ डेजी पाण्डे दार्चुला  ‘क’ मा हरदेव जोशीलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको छ । यस्तै एकीकृत समाजवादीले युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नरेशबहादुर शाहीलाई बाजुरा ‘क’ को उम्मेदवार बनाएको छ । 

प्रतिनिधि र प्रदेश सभा सदस्यका मुख्य दलका अरू उम्मेदवार भने  वडा, पालिका, प्रदेश, प्रतिनिधि र राष्ट्रिय सभा सदस्यका जितेका वा हारेकाहरू मात्र छन् । 

सुदूरपश्चिमको चुनावको रोचक पक्ष

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्रका अधिकांश क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा हुने भए पनि कैलालीका सबै क्षेत्रमा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेलधुरा, मन्त्री दिलेन्द्रप्रसाद बडुको चुनाव लड्नु भएको दार्चुला र अर्का मन्त्री शेरबहादुर कुँवर उम्मेदवार रहेको अछाम क्षेत्र नं. १ मा समेत दुई पक्षीय प्रतिस्पर्धा हुने सम्भावना रहे पनि कैलालीका प्रतिनिधि सभाका पाँच र प्रदेशका १० वटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कञ्चनपुरका तीनै क्षेत्र, अछामको क्षेत्र नं. २, बाजुरा, डोटी, दार्चुला र बझाङमा दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

यस्तै गरेर बैतडीको प्रतिनिधि सभा क्षेत्रमा दुई पक्षीय प्रतिस्पर्धा हुने भए पनि प्रदेश सभा ‘क’ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका वीरबहादुर विष्ट, नेकपा (एमाले) सुरेन्द्रबहादुर पाल र काँग्रेसका बागी हरि मोहन भण्डारीबिच कडा प्रतिस्पर्धा हुने भएको छ । 

कैलालीको क्षेत्र नंं. ४ मा प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका प्रदेश सभापति वीरबहादुर बलायर र नेकपा (एमाले)का प्रदेश इन्चार्ज लेखराज भट्टबिच दुई पक्षीय प्रतिस्पर्धा रहेको छ । तर सो क्षेत्रमा स्थानीय तहको चुनावमा कैलालीमा पहिलो पार्टी बनेको नागरिक उन्मुक्तिले पनि उल्लेख्य मत ल्याउने अपेक्षा गरिएको छ । 

क्षेत्र नं. ४ को प्रदेश सभा ‘क’  मा  गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) नेता प्रदेश सरकारका मन्त्री दीर्घबहादर सोडारी, एमालेका भीमबहादुर देउवा र नागरिक उन्मुक्तिका राजेन्द्र देवकोटाबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने बताइएको छ । प्रदेश सभा ‘ख’  मा पनि काँग्रेसका प्रकाशबहादुर बम, एमालेका हरिसिंह साउँद र काँग्रेसका बागी भगवती ओझा (पाठक) बिच प्रतिस्पर्धा छ । 

कैलाली क्षेत्र नं. १ मा काँग्रेसका राम जनम चौधरी, एमालेका तपेन्द्रबहादुर रावल, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, क्षेत्र नं. २ मा नेकपा (माओवादी केन्द्र ) का भगत बडुवाल, एमालेका झपट रावल , उन्मुक्तिका अरुनकुमार चौधरी, क्षेत्र नं. ३ मा माओवादीका कृष्णकुमार चौधरी, एमालेका गौरीशंकर चौधरी र उन्मुक्तिका गंगाराम चौधरीवीच प्रतिस्पर्धा हुने आकलन छ । केही विश्लेषकले भने राप्रपाका वीरेन्द्र बम पनि प्रतिस्पर्धामा रहेको चर्चा गरेका छन् । 

यस्तै क्षेत्र नं. ५ मा काँग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझावीच कडा प्रतिस्पर्धा रहेको छ । 

प्रदेश सभामा पनि क्षेत्र नं. १ को ‘ख’ मा काँग्रेसका रणबहादुर रावल, एमालेका द्धारिकाप्रसाद न्यौपाने, उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी,क्षेत्र नं. २ को  ‘ख’ माओवादीका नन्दबहादुर साउँद, एमालेका डेजी पाण्डे, उन्मुक्तिका रामेश्वर चौधरी क्षेत्र नं. ३ का ‘ख’ मा समाजवादीका अमरबहादुर साउद, एमालेका जयनारायण जोशी र स्वतन्त्र लक्ष्मण शाहीवीच कडा प्रतिस्पर्धा छ । यद्यपि उन्मुक्तिका रामेश्वर चौधरीले पनि राम्रो मत ल्याउने बताइएको छ । 

क्षेत्र नं. ५ को ‘क’ मा माओवादीका रमेश धामी, एमालेका नेपालू चौधरी र राप्रपाका पुस्कर भट्टवीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ । सो क्षेत्रमा पनि उन्मुक्तिका श्रीराम चौधरीले राम्रो मत पाउने अनुमान गरिएको छ ।

यस्तै गरेर क्षेत्र नं. ५ कै ‘ख’ मा पनि काँग्रेसका प्रकाशबहादुर देउवा, एमालेका दुर्गाप्रसाद जोशी र स्वतन्त्र क्षितिज भण्डारीबिच प्रतिस्पर्धा हुने अनुमान छ । तर नेपाली काँग्रेसका कैलालीका सचिव नृप सुनार स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मतको आधारमा काँग्रेस निक्कै अगाडि रहेकोले आफ्नो दलका उम्मेदवारको कडा प्रतिस्पर्धी कोही नभएको बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहमा वडा अध्यक्षले पाएको काँग्रेस सहितको गठबन्धनको १७ हजार बढी र एमालेको छ हजार बढी मत रहेको छ । यस्तै गरेर यो क्षेत्रमा रहेका आठमध्ये छ वडा काँग्रेस तथा माओवादी र एमालेले एक/एक वडा जितेको छ । 

तीन जना नेता २०४८ देखि चुनाव लड्दै 

सुदूरपश्चिम प्रदेशमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, हालका मन्त्री दिलेन्द्रप्रसाद बडू र एमालेका लेखराज भट्ट २०४८ देखि चुनाव लड्दै हुनुहुन्छ । ती मध्ये प्रधानमन्त्री देउवा लगातार सातौपटक चुनावी मैदानमा हुनुहुन्छ भने मन्त्री बडू  २०४८, २०५१, २०५६, २०६४, २०७० र यो पटक गरेर छैटौ पटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँले २०४८, २०५६ मा मात्र चुनाव जित्नु भएको छ । उहाँ २०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बन्नु भएकाृे थियो । एमाले नेता भट्ट २०४८ मा संयुक्त जनमोर्चाबाट चुनाव उठ्नु भएको थियो । त्यसपछि २०६४, २०७०, २०७४ र अहिले गरेर उहाँ पाँचौँ पटक चुनावी मैदानमा हुनुहुन्छ । भट्ट २०६४ र २०७४ मा मात्र विजयी हुनु भएको थियो । 

प्रधानमन्त्रीदेखि प्रदेशका मन्त्रीसम्म चुनावमा

प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको चुनावमा होमिनु भएको छ । यस्तै गरेर सङ्घीय सरकारका मन्त्री दिलेन्दप्रसाद बडू दार्चुला र शेरबहादुर कुँवर अछामबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडिरहनु भएको छ ।

यस्तै गरेर सुदूरपश्चिम प्रदेश सरकारका दोस्रो वरियताका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ बहादुर सोडारी कैलाली क्षेत्र नं. ४ को प्रदेश सभा ‘क’ बाट आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल कैलाली क्षेत्र नम्बर १ को ‘ख’ बाट, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ ‘क’ बाट, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा डडेलधुरा ‘ख’ बाट र उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामी दार्चुला ‘ख’ बाट चुनावी मैदानमा हुनुहुन्छ । 

लगातार तेस्रो पटक जित्ने दाउमा तीन जना 

प्रधानमन्त्री शेरबहादुर देउवा सातौँ पटक प्रतिनिधि सभा सदस्य जित्न खोजी रहँदा बैतडीबाट एमालेका दामोदर भण्डारी, दार्चुलाबाट एमालेकै गणेश ठगुन्ना र डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले मगर लगातार तेस्रो पटक जित्ने कोसिसमा हुनुहुन्छ । उहाँहरू २०७० र २०७४ का चुनावमा विजयी हुनु भएको थियो । 

केन्द्रका सांसद पनि प्रदेशमा उम्मेदवार

सुदूरपश्चिम क्षेत्रमा प्रतिनिधि सभा र  राष्ट्रिय सभा पुगिसकेकाहरू नै प्रदेश सभाका उम्मेदवार हुने सङ्ख्या उल्लेख्य छ । 

हालका प्रतिनिधि सभा, संविधान सभा सदस्य एवम् एमालेका केन्द्रीय सदस्य लालबहादुर थापा बाजुरा ‘ख’ बाट उम्मेदवार बन्नु भएको छ । यस्तै २०७० सालमा संविधान सभा सदस्य जितेका काँग्रेस नेताहरू दिवानसिंह विष्ट र बहादुर खड्का पनि क्रमशः कञ्चनपुर कञ्चनपुर क्षेत्र नं. १ को ‘क ’  र क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवार बन्नु भएको छ । 

यसअघि प्रतिनिधि सभाका सदस्यहरू भरत खड्का, वीरमान चौधरी र मालामती राना पनि पहिलो प्रदेश सभा सदस्य रहनु भएको थियो ।

प्रतिनिधि सभाका ११ जना चुनावी मैदानमा 

यस पटक सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा रहेका  ११ जना विभिन्न जिल्लाबाट उम्मेदवार भएका छन् । ती मध्ये प्रधानमन्त्री देउवा, मन्त्री बडू , बैतडीमा एमालेका दामोदर भण्डारी, दार्चुलाबाट एमालेकै गणेश ठगुन्ना र डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले मगर  कैलाली क्षेत्र नं. २ मा एमालेका झपटबहादुर रावल, क्षेत्र नं. ५ मा एमालेकै नारदमुनी राना कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादीका विना मगर, कञ्चनपुर क्षेत्र नं. ३ मा एमालेकी निरुदेवी पाल र अछाम क्षेत्र नं. २ मा एमालेकै यज्ञ बोगटी चुनाव लड्नु भएको छ ।

यस्तै बाजुरा प्रदेश सभा ‘ख’ मा लालबहादुर थापा चुनाव लड्नु भएको छ । २०७४ को चुनावमा उहाँ एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । 

प्रदेश सभाका ५३ सदस्यमध्ये १३ जना उम्मेदवार

सुदूरपश्चिम प्रदेश सभाका ५३ सदस्यमध्ये ११ जना मात्र चुनावी मैदानमा छन् । 

ती मध्ये कैलाली क्षेत्र नं. १ ‘क’ बाट कृष्ण चौधरी, ‘ख’ बाट रणबहादुर रावल, कैलाली क्षेत्र नं. २ ‘ख’ बाट नन्दबहादुर साउद, क्षेत्र नं. ३ ‘ख’ बाट अमरबहादुर साउद, क्षेत्र नं. ४  ‘क’ बाट दीर्घ बहादुर सोडारी,  क्षेत्र नं. ५  ‘क’ बाट नेपालू चौधरी कञ्चनपुर क्षेत्र नं. २ ‘ख’ बाट लालबहादुर खड्का,  कञ्चनपुर क्षेत्र नंं. ३ ‘क’ बाट प्रकाशबहादुर रावल, डडेलधुरा ‘क’ बाट पठानसिंह बोहरा, डडेलधुरा ‘ख’ बाट गोविन्दराज बोहरा, दार्चुला ‘ख’ बाट मानबहादुर धामी, अछाम क्षेत्र नं. २ ‘क’ बाट अक्कल रावल बैतडी ‘ख’ बाट लीलाधर भट्ट र बाजुरा ‘क’ बाट वलदेव रेग्मी फेरि प्रदेश सभा सदस्यमा उठ्नु भएको छ । यस्तै गरेर  प्रदेश सभाका चार जना सदस्य यस पटक प्रतिनिधि सभा सदस्यमा उठेका छन् । ती मध्ये कैलाली क्षेत्र नं. ५ बाट डिल्लीराज पन्त,  अछाम क्षेत्र नं. १ बाट सदस्यमा झपट बोहरा, कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ र डडेल्धुराबाट कर्णबहादुर मल्ल प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नु भएको छ । 

पछाडि परेको वर्ग प्रत्यक्षमा न्यून

सुदूरपश्चिममा पछाडि परेका वर्ग महिला, दलित र जनजातिले मुख्य दलबाट प्रत्यक्ष चुनाव (पहिलो हुनेमा) मा कम उम्मेदवारी पाएका छन् । 

जसअनुसार प्रतिनिधि सभा सदस्य १६ क्षेत्रमध्ये चार क्षेत्रमा मात्र महिलाले टिकट पाउनु भएको छ । कञ्चनपुर १ मा माओवादीबाट विना मगर र ३ मा निरुदेवी पाल, डोटीमा गौरी ओली र कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी चुनावी मैदानमा हुनुहुन्छ । मगर माओवादी, पाल र ओली एमालेबाट उम्मेदवार हुनुहुन्छ । भने श्रेष्ठ कैलालीमा उदाएको नागरिक उन्मुक्तिबाट उम्मेदवार बन्नु भएको छ ।

प्रदेश सभाका ३२ क्षेत्रमा पनि एक जना महिलाले मात्र उम्मेदवारी पाउनु भएको छ । एमालेले कैलाली  क्षेत्र नम्बर १ ‘क’ बाट पूर्व राष्ट्रिय सभाका सदस्य कमला ओलीलाई उम्मेदवार बनाएको हो । 

यस्तै गरेर कैलाली, कञ्चनपुरमा झन्डै आधा जनसङ्ख्या रहेको थारु समुदायले पनि मुख्य दलबाट उल्लेख्य रुपमा प्रत्यक्षमा उम्मेदवारी पाएनन् । यद्यपि कैलाली क्षेत्र १ मा काँग्रेसले रामजनम चौधरी, क्षेत्र नं. ३ मा एमालेले गौरीशङ्कर चौधरी सो क्षेत्रमै माओवादीले कृष्णकुमार चौधरीले टिकट पाउनु भएका छ । यस्तै अलग्गै जातीका रूपमा सूचिकृत राना समुदायबाट क्षेत्र नं. ५ मा एमालेले नारदमुनी रानालाई उम्मेदवार बनाएको छ । यस्तै कञ्चनपुर क्षेत्र नं. १ मा जनजातिबाटै एमालेले तारा लामा तामाङ र माओवादीले विना मगरलाई उम्मेदवार बनाएको छ । प्रतिनिधि सभामै एकीकृत समाजवादीले डोटीबाट प्रेमबहादुर आले मगरलाई फेरि उम्मेदवार बनाएको छ ।

 प्रदेश सभा भने थारु समुदायबाट एमालेले कैलाली क्षेत्र नं. ५ ‘क’ बाट नेपालू चौधरीलाई फेरि उम्मेदवार बनाएको छ । यस्तै कञ्चनपुर क्षेत्र नं. ३ ‘क’ बाट कृपा रानालाई एमालेले उम्मेदवार बनाएको छ । भने काँग्रेसले कञ्चनपुर क्षेत्र नं. १ ‘क’ बाट बन्धु राना र क्षेत्र नं. ३ ‘ख’ बेलबहादुर राना मगरलाई उम्मेदवार बनाएको छ ।

सुदूरपश्चिममा १६ प्रतिशत भन्दा बढी रहेको दलित समुदायबाट भने एमाले र माओवादीले प्रदेश सभामा दुई जनालाई उम्मेदवार बनाएको छ । जसअनुसार बझाङ ‘क’ मा एमालेले अफिलाल ओखेडा र  बाजुरा ‘क’ मा माओवादीले कर्णबहादुर विकलाई उम्मेदवार बनाएको छ । 

Author

प्रकाशविक्रम शाह