• २४ असार २०८१, सोमबार

मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने

blog

काठमाडौँ, कात्तिक ३० गते । मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने भएको छ । निर्वाचन आयोगले यी वस्तुहरू मतदान केन्द्रभित्र प्रवेश गर्दा लैजान नदिने गरी आवश्यक प्रबन्ध मिलाउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ । 

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन आचारसंहिता र प्रचलित निर्वाचन कानुनको व्यवस्थाभित्र रहेर काम गर्न गराउन निर्देशन दिनुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्नका निम्ति आयोगले विशेष निर्देशन जारी गरेको जानकारी दिनुभएको हो । 

आयोगले दिएको निर्देशन कार्यान्वयनका लागि सर्वपक्षीय बैठक गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देश गरिएको छ । त्यसैगरी मतदान केन्द्रमा लैजान निषेध गरिएका विषयबारे मतदातालाई सूचित गराउन पनि आयोगले सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयाे, ‘मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोकी मतदान कार्यलाई सुचारु गर्न तथा निर्वाचनको स्वच्छतालाई कायम गर्न निर्वाचन आयोगले  विशेष निर्देशन जारी गरेको छ ।  

मतदान कार्यमा संलग्न हुने मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदान कार्यमा खटिने कर्मचारीहरूले यो निर्देशनलाई गम्भीरतापूर्वक बुझी तदनुसार पालना गर्नको निम्ति म निर्देश गर्दछु ।  मतदान केन्द्रमा मतदान अधिकृतले निषेधित गरेका र कानुनद्वारा निषेधित अन्य वस्तुहरू मतदान केन्द्रमा लान नमिल्ने भएको हुँदा सुरुमा सर्वपक्षीय बैठक राखी यस्ता वस्तुहरू नलिई आउनका लागि सबै मतदातालाई अनुरोध गर्ने र तदनुसारको आवश्यक प्रबन्ध मिलाउनुपर्छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतदान मङ्सिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने व्यवस्था गरिएको छ । नेपाल न्युज एजेन्सीबाट