• १३ साउन २०८१, आइतबार

बागी उम्मेदवार सत्ता गठबन्धनलाई त्रास

blog

नेत्र शाही

जुम्ला, कात्तिक २९ गते । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै छ । यो अवस्थामा सत्तारूढ गठबन्धनलाई अहिले नेपाली कांग्रेसका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवारले चुनौतीका साथै त्रास बढाइदिएको छ । सत्तारूढ गठबन्धनका तर्फका उम्मेदवारको प्रतिस्पर्धा गर्दै जुम्लामा कांग्रेसका शक्तिशाली नेताको उम्मेदवारी कायमै भएपछि गठबन्धनमा त्रास फैलिएको हो ।

प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र रहेको जुम्लामा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोमा कुँवरले उम्मेदवारी दिनुभएको छ । 

प्रदेश सभातर्फ प्रदेश (क)मा नेपाली कांग्रेसका ललितजङ्ग शाही र (ख)मा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य पदम रोकाया उम्मेदवार बन्नुभएको छ ।

प्रदेश (क) र (ख)मा क्रमशः नेपाली कांग्रेसका नेताहरू देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी परेको छ । प्रदेश (क)मा नेपाली कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाही उम्मेदवार बनेको स्थानमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएर फिर्ता नलिएपछि त्रास बढेको हो । यद्यपि शाहीलाई कांगे्रसले कारबाही गरिसकेको बताएको छ । 

कांग्रेसका आधिकारिक उम्मेदवार ललितजङ्ग शाहीविरुद्ध देवेन्द्रबहादुर शाहीको उम्मेदवारी परेपछि प्रदेशमा कांग्रेसका मत बाँडिने देखिन्छ तर सङ्घको उम्मेदवारलाई समेत त्रास बढेको स्थानीय बासिन्दा बताउँछन् । 

यसैगरी प्रदेश (ख)मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकाया आधिकारिक उम्मेदवार हुनुहुन्छ । तर, नेपाली कांग्रेसका नेता धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारी कायमै रहेपछि प्रदेश (ख)मा पनि गठबन्धनलाई त्रास बढेको छ । 

तिला गाउँपालिका निवासी बस्नेत नेपाली कांग्रेसका महासमिति सदस्य तथा तत्कालीन क्षेत्रीय सदस्य एवं पुराना नेता हुनुहुन्छ । उहाँले नेपाली कांग्रेसका केही मत काट्ने त देखिन्छ नै तर ठूलो प्रभाव राख्ने हो कि भन्ने गठबन्धनलाई त्रास बढको छ ।

प्रदेश (क) र (ख) मा कांग्रेसका बागी उम्मेदवारले सङ्घमा समेत प्रभाव राख्ने अर्को चुनौती देखिएको छ । कांग्रेसको स्वतन्त्र उम्मेदवारीका कारण कांग्रेस आफैँलाई प्रदेश (क)मा केही घाटा हुने देखिन्छ । यसले गर्दा गठबन्धनतर्फका सङ्घका उम्मेदवार गोमा कुँवरलाई समेत प्रभाव पार्ने अनुमान छ । यद्यपि प्रदेश (ख)ंमा शक्तिशाली मानिने नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति दीपबहादुर शाहीले भने उम्मेदवारी फिर्ता गरिसक्नुभएको छ । 

सङ्घमा माओवादीको उम्मेदवार हुनु र प्रदेश (ख)मा तिला गाउँपालिका निवासी कांग्रेसका नेता धनबहादुर बस्नेतको उम्मेदवारीले गठबन्धनमा आशङ्का बढेको बताइएको छ ।

स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीका अनुसार विगतमा हार्ने बेलामा टिकट दिने तर अहिले सङ्घमा उम्मेदवारको टिकट आफूले पाउनुपर्नेथ्यो । अहिले कांग्रेसले सङ्घमा मत बढी भएको समयमा शक्तिको आधारमा टिकट किनबेच भएको आरोप उहाँले लगाउनुभयो । 

शाहीले भन्नुभयो, “आफ्नो उम्मेदवारी अन्यायकाविरुद्ध भएको र कांग्रेसका अन्य नेताहरूलाई प्रदेशमा टिकट दिएको भए म बागी उम्मेदवार बन्दैनथेँ ।”

प्रदेश (क)मा उम्मेदवारी दिएका कांग्रेसका स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले आफूले २०२९ सालबाट कांग्रेसको राजनीति गरेर यहाँ पुग्दा पार्टीले विश्वास नगरेकाले आफ्नो उम्मेदवारी परेको दाबी गर्नुभयो । गठबन्धनका उम्मेदवारले भने आफूहरू विजय नजिक पुगेको दाबी गर्दै आएका छन् । 

नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रदेश (क)का उम्मेदवार ललितजङ्ग शाहीले बागी उम्मेदवार सानो चोइटोका रूपमा भएकाले अब कांग्रेसका सबै समर्थकले गठबन्धनलाई एकसाथ मतदान गर्ने बताउनुभयो । 

प्रदेश (ख)मा गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का नेता पदमबहादुर रोकायाले संविधानको रक्षाका लागि बनेको गठबन्धन विजय हुने र आफूले जितेमा गठबन्धनकै लागि काम गर्ने बताउनुभयो । सङ्घका उम्मेदवार गोमा गौतम कुँवरले गाउँमा मतदाताको घरदैलोमा जाँदा गठबन्धन विजय हुने निश्चित भएको दाबी गर्नुभयो ।