• १२ मंसिर २०८१, बुधबार

सुकुम्वासी बस्तीमा डोजर चलाउनु हुँदैन : नेता प्रकाशमान सिंह

blog

थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता प्रकाशमान सिंह । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, कात्तिक २७ गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने बताउनुभएको छ ।सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने बताउनुभएको हो ।


आइतबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता सिंहले सुकुम्वासी बस्ती हटाउन अमानवीय रुपमा जबरजस्ती गर्न नहुने धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सरकारले सुकुम्वासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिबद्ध रहेको दाबी गर्नुभयो । अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने साथै समस्या समाधान गर्न सरकार र सुकुम्वासी दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।


‘‘भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरुलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउनका लागि म त्यसमा लाग्नेछु भन्ने कुरा विश्वास दिलाउन चाहन्छु । योभन्दा अगाडि यहाँ डोजरहरु नल्याएको होइन, ल्याएको छ । कहिले बागमती सर्वाधिकार सम्पन्नले ल्याउँछ, कहिले कसले ल्याउँछ ।,’’ उहाँले भन्नुभयो,  ‘‘तर, यो बसोवासलाई उठाउन सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुप¥यो । होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने त्यस्तो गर्न मिल्दैन । समस्याको स्थायी समाधान गर्नका लागि नीति, कार्यक्रम बनाएर गर्नुपर्छ भन्नेमा मैले जोड दिइरहेको छु । हामी तपाईंहरुको बसोवासलाई व्यवस्थित रुपमा सरकार र तपाईंहरुलाई दुवैलाई सहज हुनेगरी गर्नका लागि हामी त्यसमा जोड दिन्छौँ ।’’

नेता सिंहले मङ्सिर ४ गतेको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताउनुभयो । उहाँले संविधान कार्यान्वयनका लागि सामान्य अवस्था नआउन्जेल गठबन्धनलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘‘कांग्रेसको नेतृत्वमा जुन गठबन्धन छ, यो गठबन्धनकै सरकार बन्छ । विधि र प्रक्रिया पूरा गरेर हामी संविधानलाई कार्यान्वयन गर्नका लागि आवश्यक सङ्घीय कानुन बनाएर, तीन वटै तहको सरकारलाई सबैको अधिकार बाँडफाँट गरेर दिने कानुन बनाएर लग्नका लागि, संविधान रक्षाका लागि बनेको यो गठबन्धन हो । संविधान कार्यान्वयन गर्नका लागि र सामान्य अवस्था नआउन्जेलसम्मका लागि यो गठबन्धनलाई निरन्तरता दिएर धेरैपछि आ–आफ्नो बाटोमा, आ–आफ्नो एजेण्डा अनुसार जाला ।’’

उहाँले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानुनको सुधार तथा परिमार्जन गरिने बताउनुभयो । उहाँले सार्वजनिक सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउनका लागि जोड दिने दाबी गर्नुभयो ।