काठमाडौँ, कात्तिक २६ गते । ५० प्रतिशत युवाले मात्रै आफूलाई राजनीतिक रूपमा सचेत रहेको सोच्ने गरेको अध्ययनले देखाएको छ । तीमध्ये ६१ प्रतिशत पुरुष र २८ प्रतिशत महिला छन् । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले गरेको अध्ययनले यस्तो तथ्य औँल्याएको हो ।
देशका एक हजार ८० युवामा गरिएको अध्ययनले १३ प्रतिशत युवाले आफू राजनीतिमा सक्रिय रूपमा संलग्न भएको बताएका थिए ।
त्यस्तै ४३ प्रतिशत युवा दलका नेता र दलले जनताको अपेक्षाको प्रतिनिधित्व गर्छन् भन्नेमा सहमत देखिएका छन् भने ८४ प्रतिशत राजनीतिक दलका नेताहरू आफ्नो स्वार्थका लागि चिन्तित रहने गरेकोमा सहमत भएका छन् ।
अध्ययनले ७५ प्रतिशत युवाले राजनीतिक दलहरूले पूर्वाधारका क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेको देखाएको छ भने ७४ प्रतिशत युवाले हार्ने भए पनि नयाँ उम्मेदवारलाई मतदान गर्ने कुरामा सहमत रहेको देखाएको छ ।