• १६ चैत २०८०, शुक्रबार

उम्मेदवार गाउँमा मतदाता भने भारततिर

blog

गौरीफन्टा नाकाबाट कामको खोजीमा भारत जाँदै गरेका नेपाली । तस्बिर : केदार भट्टराई

प्रकाशविक्रम शाह/गोकर्ण दयाल

धनगढी, कात्तिक २५ गते । देशमा चुनाव हुन नौ दिन मात्र बाँकी छ । चुनावी रन्को क्रमशः बढ्दै पनि छ तर केही मतदातालाई भने त्यसले छोएको छैन । यस्तो अवस्था अहिलेको मात्र नभई यसअघिका निर्वाचनदेखिकै हो । 

निर्वाचनले नछुनेमध्ये एक हुनुहुन्छ कैलालीको लम्कीचुँहा नगरपालिका–६, प्रतापपुरका रामसिंह भुल । हाल ६५ वर्षका उहाँले पञ्चायतकालपछि बहुदलकालमा मतदान गर्न पाउनुभएको छैन । भोट हाल्ने रहर हुँदा पनि भारतमा काम गरिरहेकाले उहाँले भोट हाल्ने अवसर नपाउनुभएको हो ।

“म भारतमा काम गर्न थालेकै ४० वर्ष हुन थाल्यो । यस पटक आमा बितेकाले आएको थिएँ । काजकिरिया सकेर फर्किन थालेको छु ।” गौरीफन्टा नाकामा भेटिनुभएका विकले भन्नुभयो । काम गर्ने ठाउँमा छुट्टी नमिलेको र मतदाता सूचीमा नामै नभएका कारण उहाँ भारतको मुम्बईबाट केही टाढा रहेको राजकोटमा फर्कनुभएको हो ।  कैलालीकै भजनी नगरपालिका–४ का नरेन्द्र बुढा पनि भारत जाँदै हुनुहुन्छ । विगतमा कालापहाड जाने गर्नुभएका बुढा यस पटक श्रीमती ललितासहित मुम्बई जाँदै हुनुहुन्छ । स्थानीय चुनावमा मतदान गरेको बताउने ललिताले जसले जिते पनि जनताका काम केही नहुने भन्दै आफूसमेत श्रीमान्सित भारत जान लागेको बताउनुभयो ।  

चुनाव नजिक आएको भए पनि परिवार पाल्ने आधार नहुँदा मतदान छोडेर भारत जानुपर्ने बाध्यता रहेको भारत जाने सर्वसाधारणकोे गुनासो 

रामसिंह र नरेन्द्र दम्पती मात्र होइन गौरीफन्टा नाकाबाट दैनिक एक हजार २०० भन्दा बढी नेपाली भारतका विभिन्न सहरमा कामको खोजीमा गइरहेका छन् । भारत जानेमा खेतीपाती गरेर, दशैँ, तिहार मनाउन आएकाहरू र मतदानमा रुचि नभएकाहरू धेरै छन् । सुदूरपश्चिम क्षेत्रबाट हरेक वर्ष हिउँदे खेती गरेर कामको खोजीका लागि भारत जाने प्रचलन छ । 

सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी डेस्कमा कार्यरत सहायक निरीक्षक मीनबहादुर ऐरका अनुसार भारतबाट आउनेको तुलनामा भारत जानेको सङ्ख्या निकै बढिरहेको बताउनुहुन्छ । भारत जाने एक हजार हुँदा आउनेको सङ्ख्या चार सयसम्म रहने गरेको उहाँले बताउनुभयो । दशैँ सकिएपछि भारत जानेको सङ्ख्या बढिरहेको प्रहरीको तथ्याङ्क छ । 

बैतडीको झुलाघाटबाट पनि भारत जानेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा कुनै रोजगारी नहुँदा परिवार पाल्ने चिन्ताले बैतडीका ग्रामीण क्षेत्रबाट कात्तिक १ गतेदेखि २२ गतेसम्म झुलाघाट नाका भएर ५३३ पुरुष र १२१ महिला गरेर ६५४ जना रोजगारीका लागि भारत गएका छन् । 

भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर कात्तिक महिनामा मात्रै ६५४ जना सर्वसाधारण नेपाली भारत गएको झुलाघाटस्थित प्रहरी चौकीको तथ्याङ्क छ । चौकी इन्चार्ज योगेशबहादुर पालका अनुसार तिहारका बेला झुलाघाट नाका भएर २८० जना महिला र एक हजार पुरुष स्वदेश फर्किएका थिए । 

भारतबाट नेपाल आउनेको तुलनामा भारत जानेको सङ्ख्या निकै बढी

चुनाव नजिक आएको भए पनि परिवार पाल्ने आधार नहुँदा मतदान छोडेर भारत जानुपर्ने बाध्यता रहेको भारत जाने सर्वसाधारणले गुनासो गरेका छन् । झुलाघाट नाका भएर बैतडी, बझाङ, डोटी र कर्णाली प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण रोजगारीका लागि भारत जाने गरेका छन् ।  भारतको पिथौरागढ जिल्लामा यतिबेला खर काट्ने, धान भित्र्याउने र खेत जोत्ने काम पाइने भएकाले भारत जाने नेपालीको सङ्ख्या बढेको  छ । 

गाउँमा कुनै रोजगारी नहुँदा खर काट्ने कामका लागि भारतको पिथौरागढ पुग्नुभएका बैतडीको सिगास गाउँपालिका–६, जडानीकोटका ३२ वर्षीय हरिभान धामीको यही कात्तिक १८ गते अरिङ्गालले चिलेर मृत्युसमेत भएको छ । गाउँमा रोजगारी नहुँदा घरखर्च टार्न उहाँ खर काट्ने काम खोज्दै भारत जानुभएको थियो ।   भारतमा काम गर्न जाने नेपाली मजदुरको बीमा नहुँदा मृतक धामीको घरमा श्रीमती र दुई छोराको बिचल्ली भएको छ । कमाउनेको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । चुनाव जितेर पनि नेताले गाउँगाउँमा आफ्नै डोजर किनेर सडक खन्ने काम गर्दा रोजगारी खोसिएका कारण काम खोज्न भारत जाने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।  

व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहिआएको सिगास गाउँपालिका–१ का लोकेन्द्र विकले बताउनुभयो ।  स्थानीयस्तरमा रोजगारी सिजनमा कुनै काम नहुँदा अधिकांश नागरिक रोजगारीका लागि भारत पस्ने गरेको उहाँले बताउनुभयो । 

सचेत नागरिक भोट हाल्न आउँदै 

धनगढीसँग जोडिएको भारतको त्रिनगर नाकाबाट सुदूरपश्चिम, कर्णालीलगायतका प्रदेशबाट भारत जानेको सङ्ख्या निकै बढिरहेका बेला केही सचेत नागरिक भने भोट हाल्नैका लागि नेपाल फर्किइरहेका छन् । 

२०५४ सालको स्थानीय चुनावमा अछामको साबिकको घोडासैन गाविसको वडा नम्बर ३ मा १६ भोटले वडा अध्यक्षमा पराजित शङ्कर विष्ट भोट हाल्नकै लागि नेपाल आएको बताउनुहुन्छ । 

एक भोटको पनि महत्त्व हुन्छ त्यसैले म घर फर्केर आएँ उहाँले भन्नुभयो, अहिले भने कैलालीको क्षेत्र नम्बर १ को टीकापुर नगरपालिकाबाट मतदान गर्ने भएको छु । विष्ट आफूसहित १० जना नजिकका नातेदारसमेत लिएर नेपाल फर्किनुभएको हो ।