• २१ वैशाख २०८१, शुक्रबार

पीएम कप क्रिकेट : एपीएफ क्लब फाइनलमा

blog

फाइल तस्बिर ।

काठमाडौं, कात्तिक २४ गते । विभागीय  टोली नेपाल एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा एपीएफले मधेश प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । 

मधेशले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा लोकेश बमले अविजित ३५ रन बनाए । प्रदीप ऐरीले ३३, आसिफ शेखले २५ र सुमित महर्जनले १३ रन बनाउनुभयो । बलिङमा मधेशका रुपेश सिंहले दुई तथा राजेश यादवले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । मधेशका लागि रुपेश सिंहले अविजित ३६ रन बनाउनुभयो । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदिल आलमले ११ र राजेश यादवले १० रन जोड्नुभयो ।

बलिङमा एपीएफका कमल ऐरीले चार विकेट लिनुभयो । कमल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो । भुवन कार्की र मौसम ढकालले दुई दुई विकेट लिनुभयो । उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आर्मी र पुलिसबीच शुक्रबार अर्को सेमिफाइनल खेल हुनेछ ।