• ८ वैशाख २०८१, शनिबार

जो भावी मुख्यमन्त्रीको दौडमा छन्...

blog

गोविन्द रेग्मी/श्यामशङ्कर पाण्डे 

रुपन्देही (लुम्बिनी), कात्तिक २३ गते । लुम्बिनी प्रदेशमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूले प्रतिनिधि सभामा उम्मेदवारी दिएसँगै अब प्रदेशको मुख्यमन्त्री को बन्ला भन्ने चासो बढेको छ । करिब साढे तीन वर्ष नेकपा (एमाले)का महासचिव तथा नेता शङ्कर पोखरेलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा काम गर्नुभयो । पोखरेल कार्यकालको सबैभन्दा ठूलो उपलब्धि प्रदेशको राजधानी दाङको देउखुरी तोक्ने र प्रदेशको नामकरण गर्ने रह्यो । पाँच वर्ष मुख्यमन्त्री रहिरहने पोखरेलको सपना पार्टी विभाजनसँगै सकियो । पार्टी फुटेसँगै पाँचदलीय गठबन्धनको सहयोगमा २०७८ को साउन २८ मा नेकपा (माओवादी केन्द्र)का नेता कुलप्रसाद केसी मुख्यमन्त्री हुनुभयो । त्यसयता केसी लुम्बिनी सरकारको नेतृत्वमा हुनुहुन्छ । 

नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले केसीलाई मुख्यमन्त्री बन्दा साथ दिएको थियो । तर, मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केसीलाई पार्टीले टिकट दिएको छैन । लुम्बिनी सरकारको पहिलो मुख्यमन्त्री पोखरेलले समेत दाङ २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएपछि मुख्यमन्त्री बन्ने ढोका बन्द भएको छ । पोखरेल र केसी मैदानबाट बाहिरिएका कारण अब लुम्बिनी प्रदेशले मुख्यमन्त्रीमा नयाँ पाउने निश्चित छ । लुम्बिनीमा कुनै पनि दलले मुख्यमन्त्रीका रूपमा तोकेर उम्मेदवार भने उठाएका छैनन् । तर, सम्भावित मुख्यमन्त्रीका दाबेदार नेताहरूले घरदैलो कार्यक्रममा आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । 

लुम्बिनीका १२ जिल्लाबाट प्रदेश सभामा ५२ जना निर्वाचित हुनेछन् । यी निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ३३ सिटमा उम्मेदवारी दिएको छ । बाँकी सिट सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) यहाँको प्रदेश सभामा कुनै सिट पाएको छैन । तर, पनि उसले केही प्रदेश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । लुम्बिनी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा र लोसपाले एक÷एक सिटमा मात्र उम्मेदवारी दिएका छन् । लुम्बिनीमा सत्ता गठबन्धनबाट अहिले मुख्यमन्त्रीको चुनावी मैदानमा एक दर्जन उम्मेदवार छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको दौडमा रुपन्देहीका कांग्रेस नेता अब्दुल रज्जाक गद्दी देखिनुभएको छ । उहाँ रुपन्देही क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ । रज्जाकलाई कांग्रेसले मुख्यमन्त्रीका रूपमा अगाडि सारेको रुपन्देही कांग्रेस पार्टीका पाका कार्यकर्ता गोपालप्रसाद न्यौपाने बताउनुहुन्छ । “सङ्घीय सांसद भइसकेका र पूर्वराज्यमन्त्री पनि रहिसकेका रज्जाकलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित उम्मेदवार बनाइएको हो,” न्यौपानेले भन्नुभयो । रज्जाक भने पार्टी र गठबन्धनले जितेपछि मात्र मुख्यमन्त्रीको बन्ने भन्ने टुङ्गो लाग्ने बताउनुहुन्छ । रज्जाकलाई प्रदेश सभामा उठाएर सत्ता गठबन्धनले क्षेत्र नम्बर १ को प्रतिनिधि सभामा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गरेको छ । 

यस्तै नेपाली कांग्रेसबाटै भावी मुख्यमन्त्रीको दौडमा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रोल्पा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (ख)बाट चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेसबाटै कपिलवस्तु–३ को प्रदेश सभा (ख)का उम्मेदवार एवं यसअघि प्रदेशमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र कांग्रेस नेता वीरबहादुर राना पनि मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा हुनुहुन्छ । चौधरीले दाङ ३ (क)बाट र रानाले पाल्पा २ (क)बाट उम्मेदवारी दिनुभएको छ ।  

यस्तै प्रदेश सभामा गठबन्धनबाट १७ सिटमा लड्ने अवसर पाएको माओवादी केन्द्रबाट जोखबहादुर महरा र सुदर्शन बराललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयमा बसेर काम गर्नुभएका महरा रोल्पाको क्षेत्र नम्बर १ (क)बाट उम्मेदवार हुनुहुन्छ । यसअघि सोही क्षेत्रबाट चुनाव जित्नुभएका कुलप्रसाद केसी अहिले मुख्यमन्त्री हुनुहुन्छ । 

बरालले गुल्मी क्षेत्र नम्बर १ (क)बाट उम्मेदवारी दिनुभएको छ । माओवादी नेता वामदेव क्षेत्री घिमिरे पनि मुख्यमन्त्री बन्ने आकाङ्क्षासहित रुपन्देही क्षेत्र नम्बर २ (ख)बाट चुनाव लड्दै हुनुहुन्छ । उहाँ प्रदेश योजना आयोगको उपाध्यक्षसमेत रहिसक्नुभएको छ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्यद्वय लीला गिरी र दधिराम न्यौपाने पनि लुम्बिनीको मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । गिरी रुपन्देही क्षेत्र नम्बर २ (क)बाट र न्यौपाने क्षेत्र नम्बर १ (ख)बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । त्यस्तै एमालेका प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य घनश्याम पाण्डे र भूमिश्वर ढकाल पनि मुख्यमन्त्रीको आकाङ्क्षीका रूपमा देखिनुभएको छ । श्रेष्ठले रुपन्देहीको क्षेत्र नम्बर २ (ख), पाण्डेले दाङको ३ (क) र ढकाल रुपन्देहीको ५ (क)बाट प्रदेश सभा उम्मेदवार हुनुहुन्छ । एमालेका यी पाँच नेतामध्ये लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन एमालेमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलको रोजाइमा भर पर्ने बुटवलका पत्रकार माधव नेपाल बताउनुहुन्छ । 

“यदि कांग्रेस वा गठबन्धनबाट बहुमत आएको खण्डमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं गृहमन्त्री बालकृष्ण खाणले रुचाएको निकट व्यक्ति नै मुख्यमन्त्री बन्नेछन्,” पत्रकार नेपालले भन्नुभयो । यसअघि २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा पहिलो दल बनेको एमालेले प्रदेशका ५२ मध्ये ४७ क्षेत्रमा उम्मेदवारी दिएको छ । जसपा र राप्रपासँग तालमेल गरेको एमालेले समेत प्रदेशमा बहुमत ल्याउने दाबी गरिरहेको छ । प्राध्यापक डा. सुदर्शन नेपाल कुनै पनि दलले भावी मुख्यमन्त्रीका रूपमा निर्वाचनअघि नै दाबी गर्नु जायज नभएको बताउनुहुन्छ । “आफूलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेर हिँड्नु अपरिपक्व कुरा हो । अझ गठबन्धन बनाएर चुनाव लडेका नेताले आफैँ मपाईं नगर्दा राम्रो । उहाँले भन्नुभयो, “चल्तीका नेतालाई अनुमान लगाउन सकिने भयो तर जो मुख्यमन्त्री बने पनि जनचाहनाअनुसार काम गर्नु ठूलो कुरा हो ।”