सुर्खेत, कात्तिक २१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला कारागारका कैदीबन्दीले पहिलोपटक मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कारागारका १०१ कैदीबन्दीले अस्थायी मतदाताका रूपमा भोट हाल्न पाउने कारागारका सूचना अधिकारी भुवन गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् । कारागार कार्यालयबाट १०२ जना कैदीबन्दीको नामावली निर्वाचन आयोगमा पठाइएकामा एक जनाको नाम मात्र मतदाता नामावलीबाट छुटेको उहाँले बताउनुभयो । कारागारमै मतदान केन्द्र तोकिएकाले मतदान गराउन कारागारमै कर्मचारी पुग्ने निर्वाचन आयोगले जनाएको छ ।
विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो÷जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा तीन सय ७२ कैदीबन्दी छन् ।
कारागार कार्यालयका अनुसार तीन सय ३२ पुरुष, ४० महिला र आश्रित चार बालबालिका छन् । मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरू अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।