• १२ असोज २०८१, शनिबार

लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्ने

पश्चिम सेती र तल्लो सानो सेती बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

पुष्कर भण्डारी

अमरगढी (डडेल्धुरा), कात्तिक १८ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताउनु भएको छ । 

डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ स्थित बेलापुरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई आर्थिकरूपमा समुन्नत बनाउन जलविद्युतको विकासमा ध्यान दिने बताउनुभएको हो । 

उहाँले भन्नुभयो, “पश्चिम सेती सुदूरपश्चिमको मात्रै होइन, देशकै अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण आयोजना हो । यसको निर्माण सम्पन्न गरेपश्चात् हामीले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौँ । पश्चिम सेती निर्माणका लागि सम्झौता भइसकेको छ ।”

उहाँले सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकरूपमा सबल बनाउनका लागि पनि योजना बनाउने बताउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धनलाई जिताउन अपिल गर्नुभयो । 

प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्ने बताउनुभयो । उहाँले भारत र चीनसँग सीमा विवादका सन्दर्भमा सरकारले कूटनीतिक पहल गर्ने र वार्ताबाटै समस्याको समाधान खोज्ने बताउनुभयो । 

उहाँले दुई पटक संसद् भङ्ग गर्ने अघिल्लो सरकारको कदमको आलोचना गर्दै अब संसद् र सरकारको स्थायित्वकै लागि गठबन्धन गरिएको उल्लेख गर्नुभयो ।