• १२ वैशाख २०८१, बुधबार

पर्यटक आकर्षित गर्न फोटो प्रदर्शनी महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ

blog

तस्बिर : मनोजरत्न शाही/केशव गुरुङ

शिवा तामाङ

काठमाडौँ, कात्तिक १८ गते । थाहा नगरपालिकाको पर्यटकीय धार्मिक तथा प्राकृतिक सम्पदाको फोटो प्रदर्शनीको आयोजना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार सो प्रदर्शनीको उद्घाटन गर्नुभयो ।  

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्र भनेको हिमाल मात्र होइन, नेपालका प्राकृतिक, धार्मिक लगायत यहाँको जनजीवन, खानाका परिकार समेतको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिने कुराको मनन् गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्रालयले ७३ बुँदे कार्यक्रम नै घोषणा गरेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा भएका विविध सम्पदाको फोटो सङ्कलन गरी त्यसको प्रदर्शनीमार्फत अन्यलाई जानकारी दिने प्रयास सह्रानीय रहेको बताउनुभयो । नेपाल सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशकका रूपमा घोषणा गर्ने लक्ष्य राखेको समेत उहाँको भनाइ छ ।  

सो अवसरमा थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले नगरपालिका प्राकृतिक सौन्दर्यको दृष्टिले सम्पन्न रहेको र नगरपालिका भित्रका महत्त्वपूर्ण सम्पदाको फोटो सार्वजनिक गर्न प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । 

राजधानीबाट नजिक रहेको प्राकृतिक सम्पदायुक्त थाहा नगरपालिकाको भ्रमणका लागि आग्रह गर्दै प्रमुख विष्टले नगरपालिकाको विकास नै पर्यटनमार्फत गर्न सकिने सम्भावनालाई मूर्तरूप दिने प्रयास भइरहेको बताउनुभयो । 

थाहा पर्यटन फोटो प्रदर्शनी कार्यक्रममा संयोजक इन्द्रबहादुर श्रेष्ठले पर्यटनका लागि नजिकको गन्तव्य थाहा नगरपालिका भ्रमणका लागि आउन फोटोहरूले प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने प्रदर्शनीमा राखिएका थाहा नगरपालिकाका ६३ वटा फोटोहरू राखिएका छन् । तस्बिर गणेश विष्टले खिच्नुभएको हो । 

थाहा नगरपालिकाका कुन्छाल गाउँ, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणी माई, ऋषेश्वर, कालीदेवी, वज्रवाराही माई, डाँडाबास पार्क, बथानचुली दरबारको भग्नावशेष, अशोक चैत्य, चम्पाकेश्वर, नर्वे ढुङ्गा र पोखरी चौर लगायत १२ वटा वडास्थित सम्पदाको फोटो प्रदर्शनीमा राखिएका छन् ।