• २२ माघ २०७९, आइतबार

एकल पिताको कथा महापुरुष

blog

काठमाडौँ, कात्तिक १८ गते । एकल पिताको कथामाथि निर्माण भएको चलचित्र ‘महापुरुष’मा समाजले कसरी मान्छेलाई महापुरुष बनाउँछ भन्ने कुरा देखाइएको छ। चलचित्रको सुरुवात आदर्शनगर समाजबाट हुन्छ; जहाँ बालकृष्ण (हरिवंश आचार्य) अवकाशप्राप्त शिक्षकको भूमिकामा देखिनुभएको छ। श्रीमतीको मृत्युपछि एक्लिनुभएका बालकृष्णका दुई छोरा छन्। जेठो छोरा विदुर (रवीन्द्रसिंह बानियाँ) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ भने कान्छो छोरा विज्ञान अरुण क्षेत्री बाहिर जाने कोसिसमा आफ्ना बुवासँग बसिरहनुभएको हुन्छ।

चलचित्रमा विज्ञान आफू विदेश जानका लागि केही उपाय नपाएपछि प्रतिष्ठा (अञ्जना बराइली)सँग डिपेन्डेन्ट भिसामा विदेश जाने तरखर गर्नुहुन्छ। यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा हुनुहुन्छ। परिवारका कारण उहाँ विज्ञानसँग विवाह गर्न तयार हुनुहुन्छ। प्रतिष्ठाका बुवा (मदनकृष्ण श्रेष्ठ) पनि विवाहका लागि तयार देखिनुहुन्छ। 

आफ्ना सम्धी एक्लै आदर्शनगरमा बसोबास गर्छन् भन्ने थाहा पाएपछि मदनकृष्णले बालकृष्णलाई ‘महापुरुष’कै उपाधिसमेत दिनुभएको हुन्छ। यता बालकृष्ण भने बाहिरबाट जति सुखी देखिए पनि भित्रभित्रै उहाँलाई एक्लोपनले सताइरहेको हुन्छ। उहाँसँग घरमा कुरा आदानप्रदान गर्ने पनि कोही हुँदैनन्। घरमा पालेको सुगासँग उहाँ आफ्नो मनको कुरा साट्ने गर्नुहुन्छ।  बालकृष्णको भेट फूलमाया (गौरी मल्ल)सँग हुन्छ। त्यसपछि चलचित्रको कथाले बाटो मोड्छ। उहाँहरूबीच मायाप्रेम बस्न सुरु हुन्छ। उता विज्ञान पनि प्रतिष्ठासँग आफ्नो माया साटासाट गर्न व्यस्त हुनुहुन्छ। जब विज्ञानलाई आफ्नो बुवाका सबै कुरा थाहा हुन्छ, त्यसपछिको कथा नै चलचित्रको मुख्य विषय हुन्छ। 

बुवाका कारण आफ्नो हुन लागेको विवाह भाँडिने र अस्ट्रेलिया जाने सपना पनि चकनाचुर हुने देखिएपछि विज्ञान झनै दुबिधामा पर्नुहुन्छ। के गर्ने कसो गर्ने भनेर उहाँ सोच्नै सक्नुहुन्न। उहाँ दुवैलाई अलग्याउने उपाय खोज्न थाल्नुहुन्छ। जब बालकृष्ण फूलमायालाई आफैँसँग राख्न थाल्नुहुन्छ, त्यसपछि आदर्शनगरभित्र खैलाबैला मच्चिन थाल्छ। 

त्यसपछि कथामा द्वन्द्व सुरु हुन्छ। के बालकृष्ण र फूलमायाको विवाह होला ? आदर्शनगरभित्र बस्नेहरूले दुवैको सम्बन्धलाई कसरी हेर्छन् ? अब विज्ञान के गर्नुहुन्छ ? अस्ट्रेलिया जानुहुन्छ वा बुवाको बिहेको तयारीमा जुट्नुहुन्छ ? यी सबै प्रश्नको जवाफ हामी चलचित्रभित्र पाउँछौँ। यिनै कुराहरू अटाएका छन्, चलचित्र ‘महापुरुष’भित्र।

चलचित्रको संवाद राम्रो छ। चलचित्र अभिनेता हरिवंश वरपर नै घुमेको छ। उहाँको अभिनय अब्बल मान्नुपर्छ। डेब्यु कलाकार अरुण क्षेत्रीको अभिनय उत्कृष्ट छ। पहिलो चलचित्रमै उहाँले अभिनयमा बाजी मार्नुभएको छ। नायिका अञ्जना बराइलीको अभिनयलाई ठीकठाक भन्दा फरक पर्दैन। रवीन्द्रसिंह बानियाँको अभिनय दमदार छ। यस्तै गौरी मल्लको चरित्रमा खासै नयाँपन झल्किँदैन। उहाँको अभिनयबाट के पुष्टि हुन्छ भने उहाँ अझै पनि पुरानै ढर्राको अभिनयमा हुनुहुन्छ। मदनकृष्ण श्रेष्ठको अभिनयमा पनि खासै नयाँ कुरा देखिँदैन। छोटो भूमिकामा देखिनुभएकी सिरु विष्टको भूमिकाले अवश्य नै दर्शकको मनभित्र छाप छोड्छ। चलचित्र अति राम्रो पनि छैन र झुर पनि छैन। चलचित्रको पटकथा मिलेको छ। चलचित्रमार्फत निर्देशक भट्टराई दर्शकलाई हाँसो रोदन दुवैको स्वाद पस्कन धेरै मात्रामा सफल हुनुभएको छ।