• ८ मंसिर २०८२, सोमबार

गायक रत्नदीप चौधरी सम्मानित

blog

दोस्राे ओपासना चलचित्र म्युजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदीप चौधरी सम्मानित ।

काठमाडाैं, मङ्सिर ८ गते । दोस्राे ओपासना चलचित्र म्युजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदीप चौधरी सम्मानित हुनुभएकाे छ । गायक चौधरीकाे आफ्नै शब्द र सङ्गीतमा तयार भएकाे गीत 'हे गे नथिया वाली’ शीर्षकको थारु भाषाकाे गीत यस वर्ष उत्कृष्ट पुरस्कारका लागि मनोनयनमा परेको थियो ।

चलचित्र म्युजिक अवार्ड २०२५ मा गायक चौधरीको गीतमा रहेको भावनात्मक अभिव्यक्ति तथा मधुर आवाज र थारु साङ्गीतिक शैलीलाई आधुनिक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्णायक मण्डलले उहाँकाे विशेष प्रशंसासमेत गरेका थिए । अवार्ड समारोहमा कलाकार, सङ्गीतकर्मी तथा दर्शकबाट पनि गीतले उल्लेखनीय प्रशंसा बटुल्न सफल भएकाे छ। यस्तै, गीतमा गायक चाैधरीलगायत कुसु गुरुङकाे पनि स्वर छ ।


कार्यक्रमका प्रमुख अतिथि विशिष्ट चलचित्रकर्मी हरिहर शर्माले प्रविधिकाे विकाससँगै चलचित्र तथा गीत सङ्गीतमा आजभाेलि काम गर्न र गर्ने दुबैलाई सहज बनेकाे बताउनुभयाे । आफ्ना पुराना दिन सम्झिँदै उहाँले आधुनिक समाज प्रशंसनीय रहेकाे उल्लेख गर्नुभयाे । 

यस्तै, कार्यक्रमा गायिका कुसु गुरुङले महिलातर्फका उत्कृष्ट लाेक आधुनिक गायन अवार्ड तथा मैथिली गीत गायनतर्फ गायिका वन्दना मैनाली सम्मानित हुनुभएकाे छ ।

यसैगरी, सम्मान ग्रहण गर्नुहुँदै गायक चौधरीले थारु भाषा–साहित्य र सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन गरेको आफ्नो प्रयासलाई यस अवार्डले थप ऊर्जा प्रदान गरेको बताउनुभयाे ।