• ११ असोज २०८१, शुक्रबार

सिक्टा सिँचाइ आयोजना

सत्र वर्षमा बहत्तर प्रतिशत प्रगति

blog

सिराज खान 

नेपालगञ्ज, कात्तिक १८ गते । आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ । 

२०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । 

सुरुमा १२ अर्ब ७० करोड रुपियाँ लागतमा आठ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि क्षेत्र विस्तार भएपछि २५ अर्ब नौ करोड रुपियाँको लागतमा आव २०८४/८५ मा पूरा गर्ने लक्ष्य लिइयो । अहिले यो आयोजनाको लागत बढेर ५२ अर्ब ८९ करोड रुपियाँ पु-याइएको छ भने निर्माण गर्ने अवधि थप गरेर आव २०८९/९० पु-याइएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले जानकारी दिनुभयो । 

अहिलेसम्म यो आयोजनामा १९ अर्ब ३४ करोड रुपियाँ खर्च भएको छ । गत आर्थिक वर्षमा सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपियाँ फ्रिज भएको थियो । पछिल्ला वर्षमा बर्सेनि डेढ अर्ब रुपियाँको हाराहारीमा बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै गएको तर सिँचाइ सुविधा नपाइरहेको अधिकांश किसानको गुनासो छ । 

लक्ष्यअनुसार काम हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठूलो आर्थिक भार खेप्नु परेको र अर्कोतिर लामो समयदेखि सिँचाइको आसमा बसेका किसानले निराशा भोग्नुपरेको विकासका लागि नागरिक सरोकार समिति बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । 

चालू आर्थिक वर्षका लागि आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको छ । १६ हजार हेक्टरमा सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको डडुवा शाखा नहरको निर्माण कार्य आयोजना र निर्माण कम्पनी कोस्टल पप्पु जेभी बीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र छ । 

यसका कारण डडुवा शाखा नहरको कमान्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकासहित डडुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौँ किसान सिँचाइ सुविधाबाट वञ्चित छन् ।